समाज

नेपाली सेनाको तीनदिने बृहद् प्रदर्शनी सुरु

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर तीनदिने बृहद् प्रदर्शनी आयोजना गरेको छ। प्रदर्शनीमा नेपालका सेना नायक लगायतका तस्बिर, सैनिक ब्यान्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागितासम्बन्धी विषयवस्तु समेटिएको छ।

राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जगेर्ना, पदिक फौज र मद्दति अङ्ग, घोडचढी तथा भैैरव वहान गुल्म, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा गतिविधिबारे प्रदर्शनी अवलोकन गरी जानकारी लिन सकिनेछ।

सेनाले फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाउँदैछ। निःशुल्क प्रवेशको सुविधा रहेको सैनिक केन्द्रीय पुस्तकालय अगाडि मैदानमा तीन दिनसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। प्रधानसेनापति प्रभुराम शर्माले प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मी कुराकानी गर्दै गैरसैनिक नागरिक र विद्यार्थीलाई नेपाली सेनाको सङ्गठन, जिम्मेवारी, उपकरण, सैनिक नागरिक सम्बन्ध लगायतका विषयमा जानकारी लिने सन्दर्भमा निकै ज्ञानवद्र्धक रहने विश्वास व्यक्त गरे।

उनले भने, 'नेपाली जनतालाई सेनाको गौरवमय इतिहास र वर्तमानबारे  एकै स्थानबाट थाहा पाउन सजिलो होस् भन्ने हेतुले प्रदर्शनी आयोजनाको छ।' प्रधानसेनापति शर्माले सैनिक नागरिकको सम्बन्ध, नागरिकले सेनालाई सहयोग पुर्‍याउन सक्ने क्षेत्र र विषय, विपद्का बेला उपकरणको उचित प्रयोगबारे जानकारी दिने उद्देश्य रहेको प्रदर्शनी अवलोकनबाट बहुपक्षीय फाइदा लिन सकिने उल्लेख गरे।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सेनाबारे समाजका विभिन्न तह र तप्काका व्यक्तिलाई बुझ्न सहयोग मात्र होइन, सैनिक इतिहास बुझ्न सबैका लागि ज्ञानवद्र्धक हुने विश्वास व्यक्त गरे। उनले भने, 'सेनाले जिम्मेवारी निर्वाहका क्रममा विगतदेखि वर्तमानसम्म गरेको उल्लेखनीय कार्यलाई चित्रित गर्ने उद्देश्यले तस्बिर, हातहतियार, पोसाक, संलग्न भएका गतिविधि र आयामलाई  प्रदर्शनीमा समेटिएको छ। प्रदर्शनीले सेनालाई नजिकबाट चिन्न सक्ने र सैनिक नागरिक सम्बन्ध विस्तारमा यो प्रदर्शनीले थप योगदान पुर्‍याउने सेनाले विश्वास लिएको छ। रासस

प्रकाशित: १४ फाल्गुन २०७८ १०:१२ शनिबार

नेपाली सेनाले सैनिक