समाज

वडाध्यक्ष कार्कीको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ।

फागुन ८ गते रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–१२ मा कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले कार्की सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

फोर्स गाडीको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको शुक्रबार राति साढे १० बजेतिर न्यूरो अस्पताल बासबारी काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिइन्। दुर्घटना लगत्तै कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका कार्कीलाई थप उपचारका लागि दुई दिनअघि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो।

विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध कार्की सुर्खेतका कान्छा वडाध्यक्ष थिए। २०४८ सालमा जन्मेका उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। भेरीगंगा जेसीजका संस्थापक उपाध्यक्ष थिए।

प्रकाशित: १४ फाल्गुन २०७८ ०२:४८ शनिबार

मोटरसाइकल दुर्घटना विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध न्यूरो अस्पताल बासबारी काठमाडौं