समाज

झण्डै दुई खर्ब लागतमा लिफ्टिङ खानेपानी योजना सञ्चालन हुँदै

उदयपुर क्षेत्र २ का सांसद सुरेशकुमार राई (हिमाल)।

जिल्लाको पहाडी भेगका ३ गाउँपालिका र कटारी नगरबासीसमेतका लागि गत ०७५ सालदेखि सञ्चालन गर्ने भनिए पनि अहिलेसम्म सुरु नभएको लिफ्टिङ खानेपानी योजना कार्यान्वयनमा आउन लागेको छ।

उदयपुरको लिमचुङबुङ, रौतामाई र ताप्ली गाउँपालिका तथा कटारी नगरपालिकाको माथिल्लो भेगका लागि लिफ्टिङ खानेपानी योजना सञ्चालन तयारी गरिएको हो। चालु वर्षदेखि नै काम सुरु हुनेगरी ‘सुनकोसी लिफ्टिङ खानेपानी योजना, उदयपुर क्षेत्र नं. २’ सञ्चालन गर्न लागिएको हो।

उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का सांसद तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल)को पहलमा योजना सञ्चालनका लागि बजेट सुनिश्चित गरिएको छ। सांसद राईले केही दिनअघि खानेपानी मन्त्रालय, खानेपानी डिभिजन पुगेर बजेट सुनिश्चित गरेपछि योजना अघि बढ्न लागेको हो।

उदयपुर र खोटाङको सीमाना भएर बग्ने सुनकोसीमा मुहान थापेर लिफ्टिङमार्फत पानी तानेर सञ्चालन गरिने खानेपानी योजनाबाट लिमचुङब्ङका सबै वडा र रौतामाई गाउँपालिका १ नं. माझखर्कबासीलाई पानी उपभोग गर्न दिइने कार्यक्रम छ। सो स्किमका लागि ७७ करोड ५१ लाख ३४ हजार ८ सय ३२ रुपैयाको लागत इस्टीमेट बनेको छ।

त्यस्तै छिमेकी गाउँपालिकाहरु ताप्ली र उदयपुरगढीमा पानी पुर्‍याउन ८१ करोड ४५ लाख २० हजार ३ सय ५२ रुपैयाको इस्टीमेट बनेको सांसद राईले बताए। सो स्किमका लागि १ अर्ब ५८ करोड ९६ लाख ५५ हजार १ सय ८४ रुपैयाको लागत इस्टीमेट तयार भए अनुसार बजेट सुनिश्चित गरिएको छ। 

लिफ्टिङ खानेपानी योजनाले लिमचुङबुङाका १२ हजार बढी जनसंख्या लाभान्वित हुनेछन् भने ताप्लीका पनि उत्तिकै जनसंख्यालाई सुद्ध खानेपानी उपलब्ध हुने राईले बताए। त्यसैगरी उदयपुरगढीका ५ हजार र रौतामाई ५ हजार बढी गरी ३३ हजार स्थानीयले खानेपानी पाउने अपेक्षा गरिएको छ।

उता कटारी नगरपालिकाका पहाडी वडाबासीलाई लिफ्टिङमार्फत् खानेपानी उपलब्ध गराउन अर्को स्किम सञ्चालन हुनेछ। कटारीका पहाडी वडाहरु १४ लेखानी, १३ मयङ्खु, ११ गहुबारी, १२ हर्देनी, १० सोरुङछबिसेसहितका भूभागमा यो स्किम सञ्चालन हुनेछ। त्यसका लागि ३३ करोड ६४ लाख ७३ हजार ६ सय ९९ सय रुपैयाँको लागत इस्टीमेट प्राििवधिकले तयार पारेको छ।

सो स्किमले कटारी नगरपालिकाका १२ हजार बढणी जनसंख्यालाई सुद्ध खानेपानी उपलब्ध हुनेछ। स्थानीयतहहरु गठन र सञ्चालन भएसँगै जनताको आधारभूत आवश्यक्तामध्ये दैनिक नभई नहुने खानेपानी समस्याको दीर्घकालिनरुपमा समाधान गर्न लिफ्टिङ खानेपानी सञ्चालनको अवधारणा ल्याइएको हो।

जसका लागि लिमचुङबुङ अध्यक्ष मेजर राईले सबभन्दा पहिले गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरेर लिफ्टिङ खानेपानी योजना सञ्चालन गर्ने परिकल्पना गरेका थिए। उनको विचारसँग सहमत हुँदै ताप्ली, उदयपुरगढी र रौतामाईका अध्यक्षहरु तथा कटारी नगरप्रमुखले आफ्नो पालिकाको खानेपानी समस्या समाधान गर्न साझेदारी गर्न आग्रह गरेपछि योजना ठोस भएको हो।

सांसद राईले गएको निर्वाचनमा भोट माग्दा गरेको प्रतिबद्धता अनुसार खानेपानी योजना सञ्चालन गर्न बजेट ठोस गरिएको बताए। उनका अनुसार २०७४ मंसिर २१ गते सम्पन्न भएको संघ र प्रदेशसभा चुनावमा भोट माग्न जाद्या ‘बाम गठवन्धनलाई भोट, गाउँगाउँमा खानेपानी, विद्युत र रोड’ भन्ने नारा लगाउँदै भोट मागेर जितेकाले सो वाचा पुरा गर्नुपर्ने दायित्व छ।

निर्वाचित भएको ३ वर्ष प्रवेश गर्दैगर्दा विश्व महामारी कोभिडको प्रकोपले छापेकाले केही काम गर्न ढिला भएको सांसद राईले बताए। अब कोभिड कहर कम भएसँगै विकासको आधारभुत मेरुदण्ड मानिएको खानेपानी, विद्युत र सडक निर्माण कार्यलाई संघ, प्रदेश र स्थानीय सरकारले सयुक्त रुपमा पहल गर्दै विभिन्न ठाउँमा योजनाहरु चलिरहेका छन्।

तर, एकातिर कोभिड महामारी र अर्कातिर गठबन्धन सरकार विघटन भएपछि सञ्चालित विकास निर्माणका योजनाहरु प्रभावित भएको उनले बताए। त्यही पनि चुनावताका गरेको वाचा र प्रतिबद्धतालाई सकेसम्म कार्यकालभित्रै पुरा गर्नेगरी काम भईरहेको राईले बताए।

प्रकाशित: १३ फाल्गुन २०७८ ०८:५७ शुक्रबार