पोखराबाट लागुऔषधसहित पक्राउ परेका र्यापर लाउरेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ। लाउरे नामबाट परिचित आशिष रानालाई मंगलबार ५० हजार धरौटीमा छाड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले लाउरेसहित चार जनालाई पुस १४ गते राति ७ बजे पोखरा महानगरपालिका ८स्थित जाल्पारोडबाट पक्राउ गरेको थियो। प्रहरीले उनीसहित थप तीन जनालाई पनि पक्राउ गरेको थियो। उनीहरू तीन जनालाई भने पुर्पक्षमा पठाइएको छ।
उनीसँगै पोखरा २१ घर भएका ३९ वर्षीय ध्रुबबहादुर थापा, रुपा गाउँपालिका ७ घर भएका ३० वर्षीय बिक्की भन्ने नविनकुमार गुरुङ र स्याङ्जा भिरकोट नगरपालिका घर भई पोखरा ८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरूङ पक्राउ परेका थिए। लाउरे टेलिभिजन रियालिटी शो हिमालयन रोडिजका निर्णायक पनि हुन्। र्याप ब्याटल रअ बार्जबाट उनी चर्चामा आएका थिए।
प्रकाशित: १० फाल्गुन २०७८ ११:२७ मंगलबार