समाज

गाउँपालिका केन्द्र विवाद समाधानका लागि वार्ता टोली गठन

जुम्लाको कनकासुन्दरी गाउँपालिकाको केन्द्र विवाद समाधानका लागि वार्ता टोली गठन भएको छ। कनकासुन्दरी गाउँपालिका ४ का वडाध्यक्ष रविलाल आचार्यको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरिएको हो।

कनकासुन्दरी गाउँपालिकाको आठौँ गाउँसभामा केन्द्र विवाद उत्कर्षमा पुगेपछि गाउँकार्यपालिका बैठकले वार्ता टोली गठन गरेको हो। गाउँपालिकाको केन्द्र अहिले चलेको ठाउँमै राख्नु पर्ने एक पक्षको अडान र कनकासुन्दरी ५ साविकको विराट गाविस भएको ठाउँमा केन्द्र राख्नु पर्ने अर्को पक्षको अडान कायमै रहेपछि केन्द्र तोक्न सकिएको थिएन।

सदस्यमा कनकासुन्दरी १ का वडाध्यक्ष हरीबहादुर भण्डारी, २ का वडाध्यक्ष शेरबहादुर रावत, ७ का वडाध्यक्ष धनजीत रोकाया, ८ का वडाध्यक्ष रत्नलाल उपाध्याय र प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायत सदस्य छन्। गाउँपालिका केन्द्र तोक्नको लागि आ आफ्नो लविङमा रहेका वडाध्यक्षलाई वार्ता टोलीमा राखिएको छैन।

प्रमुख प्रशासकीय अधिकृत कठायतले कनकासुन्दरी ५ का वडाध्यक्ष मनुविर बुढा, ५ का वडाध्यक्ष बिर्खबहादुर खत्री र ६ का वडाध्यक्ष जग्गीप्रसाद आचार्यलाई वार्ता समितिमा नराखिएको बताए। उनीहरुले क्रमशः गोठीजीउला, लड्कु र गोरुचौरमा केन्द्र तोक्नु पर्ने अडान राखेका छन्। गाउँपालिका केन्द्र तोक्न धेरै पटक कार्यपालिका बैठकमा सहमतिको प्रयास भएको थियो। तर सहमति हुन सकेको थिएन।

जसका कारण आठौँ गाउँसभा चल्न सकेन। गाउँसभाले पारीत गर्नुपर्ने दर्जन बढि कानुन पारीत हुन सकेका छैनन्। सभासदस्यहरुले गाउँपालिका केन्द्र नतोकिदासम्म गाउँसभा हुन नदिने अडान राखेका छन्। सबै पक्षसंग वार्ता गरेर गाउँपालिका केन्द्रको टुंगो लगाउन वार्ता टोली गठन भएको वार्ता टोलीका संयोजक रविलाल आचार्यले जानकारी दिए।

अबको एक हप्ताभित्र गाउँपालिकाको केन्द्र विवाद समाधान हुनेछ। सबै पक्ष संगको आपसी समझदारी र गाउँपालिका बासीको हित हुने गरी केन्द्र तोक्ने संयोजक आचार्य बताउँछन्। उनले भने, वार्ता टोलीले विवाद समाधान गरेर गाउँ कार्यपालिका बैठकमा पेस गर्नेछ। कार्यपालिकाले गाउँसभामा लिएर पास गर्नुपर्छ। यही तयारीमा वार्ता टोली घनिभुत छलफलमा जुटेको छ।’

वार्ता टोलीले वार्ताका माध्यमबाट केन्द्र विवाद टुंग्याउन नसकेको खण्डमा चुनावी प्रक्रिया मार्फत केन्द्र तोक्ने गरि तयारी हुने संयोजक आचार्य बताउँछन्।  गाउँपालिका केन्द्र तोक्ने विषयमा अल्झिदा कामकाज प्रभावित भएको स्थानीय बताउँछन्। 

प्रकाशित: १० फाल्गुन २०७८ ०९:११ मंगलबार

जुम्लाको कनकासुन्दरी गाउँपालिका