समाज

विराट राजवंशीलाई सूचिकृत गर्न माग

राजवंशी समाज उत्थान समिति (विराट)को १५ औं राष्ट्रिय भेला मोरङको जहदा गाउँपालिकामा सम्पन्न भएको छ। ‘विराट राजवंशीको चाहना विराट प्रदेशको स्थापना’भन्ने मूल नाराका साथ राष्ट्रिय भेल सम्पन्न भएको हो। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै समितिका केन्द्रीय सभापति भुवनेश्वर मण्डल राजवंशीले विराट राजासँग जोडिएका विराट राजवंशीलाई राज्यले मूल प्रवाहमा ल्याउन नसकेको गुनासो गरे।

विराट राजवंशीलाई आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानमा राज्यले सूचिकृत नगरेकाले राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित रहेको उनले बताए। राज्यको हरेक अंगमा विराट राजवंशीको स्थान सुरक्षित गर्नुपर्ने, विराटनगरको प्रथम जातिको रुपमा घोषणा गर्नुपर्ने, विराटनगर महानगरपालिका, कटहरी, जहदा, बुढीगंगा, धनपालथान एवं ग्रामथान गाउँपालिका क्षेत्रलाई विराट राजवंशीको स्वयत्त परिषद्को व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।

विराट राजवंशी समुदायको उत्थानका लागि प्रत्येक तह र अंगमा छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने, १ नम्बर प्रदेशलाई विराट प्रदेश घोषणा गर्नुपर्ने उनीहरुले माग गरेका छन्। १ नम्बर प्रदेशसभा सदस्यमा मूल आदिवासी विराट राजवंशीलाई समानुपातिक रुपमा प्रतिनिधित्वको सुनिश्चित गर्नुपर्ने र विराट दरवार क्षेत्रको संरक्षण एवं प्रवद्र्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने  लगायतका माग उनीहरुको रहेको छ।

राज्यले विराट राजवंशीहरुलाई शैक्षिक, साँस्कृतिक र राजनैतिक क्षेत्रमापछि पारेको उनीहरुको गुनासो रहेको छ। प्रदेश १ को मोरङ, सुनसरी र झापामा बसोबास गर्ने विराट राजवंशीको जनसंख्या ४० हजार रहेको छ। विराट राजवंशीको छुट्टै भाषा, भेषभूषा, संस्कृति, परम्परा कोच राजवंशीको भन्दा छुट्टै रहेको बताइएको छ।  

प्रकाशित: ८ फाल्गुन २०७८ १२:३८ आइतबार

राजवंशी समाज उत्थान समिति मोरङको जहदा गाउँपालिका