समाज

बाँकेको फत्तेपुरमा बाघले फेरि मान्छे मार्‍यो

फाइल तस्बिर

बाँकेको राप्तीपारि फत्तेपुरमा पाटे बाघले फेरि मान्छे मारेको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ६० वर्षका धनबहादुर चलाउनेलाई शनिबार बिहान पाटे बाघले आक्रमण गरेको हो।

एक महिनाअघि पनि उक्त वडाकै २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टलाई पनि बाघले मारेको थियो।

राप्ती सोनारी ६ का स्थानीय बासिन्दा प्रदिप पौडेलका अनुसार बाघले शनिबार बिहान फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तर्गत पर्ने सिक्टा सिचाइँ आयोजनाको पुर्वी नहरको छेउमा चलाउनेलाई झम्टेर करीव ५ सय मिटरभित्र जंगलमा लगेको थियो।

गाउँबाट ठुलो संख्यामा गाउँलेहरू पुगेपछि बाघले शवलाई छाडेर भागेको पौडेलले बताए। ‘अहिले हामी घटनास्थलमै छौं। शव पनि फेला परिसकेको छ। बाघ अहिले जंगलतिर भागेको छ,’ उनले भने। सामुदायिक वन समूहले उपभोक्ताका लागि शनिबार दाउरा र घाँस खोलेको थियो। दाउराघाँस काट्न सामुदायिक वन क्षेत्रमा करीव २५/३० जनाको संख्यामा शनिबार बिहान जंगलमा गएका थिए।

बाघलाई देखेपछि केहिले रुखमा चढेर ज्यान जोगाउन सफल भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले पनि फत्तेपुरमा बाघले फेरि मान्छे मारेको पुष्टि गरिसकेको छ। स्थानीय प्रहरी टोली अहिले घटनास्थलमा पुगेका छन्।

प्रकाशित: ७ फाल्गुन २०७८ ०५:०३ शनिबार

बाँकेको राप्तीपारि फत्तेपुर पाटे बाघले आक्रमण