समाज

मर्मत नहुँदा सिसी क्यामरा प्रयोगविहीन

कालिकोट सदरमुकाम मान्म बजारमा जोडिएका सिसी टिभी क्यामरा प्रयोगविहिन बनेका छन्। बजार क्षेत्रको सुरक्षाको लागि तीन वर्ष अघि जडान गरिएका अधिकांश क्यामरा अहिले बन्द छन्। प्रतिमाचोक, बीचबजार, जिरो प्याइन्ट, पुरानो बसपार्क, ताडी बसपार्कलगायतका विभिन्न स्थानमा २८ वटा सिसी टिभी क्यामरा जडान गरिएका थिए। २८ मध्ये अहिले २३ वटा क्यामरा बन्द छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख शिद्धराज न्यौपानेले बजार क्षेत्रमा जडान भएका २८ वटा मध्ये पाँच वटा सिसी टिभी क्यामरा मात्रै सञ्चालनमा रहेको बताए। ‘मर्मत अभावमा घाम, पानी, चट्याङ, धुलोलगायतका कारणले बजार क्षेत्रमा जोडिएका सिसी टिभी क्यामरामा विग्रिएका छन्,’ उनले भने, ‘सिसी टिभी क्यामरा सञ्चालनमा नहुँदा अपराध अनुसन्धानमा समस्या भइरहेको छ।’

सिसी टिभी क्यामरा नियमित सञ्चालनमा हुँदा प्रहरीलाई अपराध अनुसन्धानमा सहज भएको थियो। ‘अहिले अपराध अनुसन्धान, सवारी दुर्घटना, चोरी, लुटपाटजस्ता घटनाको अनुसन्धानमा कठिनाई भइरहेको छ,’ प्रहरी निरीक्षक भूपेन्द्र शाहीले भने, ‘सरोकारवाला निकायहरुलाई तत्काल सञ्चालनमा नरहेका क्यामरा मर्मतका लागि पत्राचार गरेका छौं।’

कर्णाली प्रदेश सरकारको २० लाख र खाडाचक्र नगरपालिकाको १० लाख गरेर ३० लाख रुपैयाँको लागतमा २०७५ कात्तिकबाट मान्म बजारमा सिसी क्यामरा जडान गरिएको थियो।

प्रकाशित: ५ फाल्गुन २०७८ १२:४४ बिहीबार