समाज

बाँदरका कारण रामधुनी मन्दिरमा आउने धर्मावलम्बी त्रास

रामधुनी मन्दिर सुनसरी

सुनसरी रामधुनी मन्दिरमा आउने धर्मावलम्बीमा बाँदरले गर्दा त्रास बढ्दो छ। बाँदरको टोकाईबाट मन्दिरमा आउने थ्रपै धर्मावलम्बी घाइते हुने गरेका छन्। बाँदरको टोकाइले मानिसमा कुकुरको भन्दा बढी रेविजको मात्रा फैलाउने गर्दछ।

जसले गर्दा धर्मावलम्बीमा त्रास बढ्दै गएको छ। अहिले रामधुनी मन्दिर क्षेत्रको जंगलमा दुई प्रजातिका बाँदर रहेको अनुमान गरिएको छ। एक खैरो रङको सानो प्रजातिको बाँदर जो पहिले देखि नै मन्दिर आसपास थिए। अहिले तीनदेखि चार फिट सम्मका अग्ला काला बाँदर देखिन थालेको स्थानीय होटल सञ्चालिका रेश्मा क्षेत्रीले बताइन्।

‘नयाँ प्रजातिका बाँदरले बाटोमा हिड्नेमाथि झुण्ड बनाएर आक्रमण गर्ने गरेका छन,’ उनले भनिन्। उनका अनुसार बाँदरकै कारण रामधुनी मन्दिर आसपास चिया नास्ता पसल सञ्चालन गर्ने व्यवसायी समेत बाँदरको कारण आजित बन्दै आएका छन्।

‘पसलमा आउने ग्राहकमाथि बाँदरले आक्रमण गर्ने, खाने कुराहरु चोर्ने र खानेकुराहरुमा जुठो लगाउने गर्छन,’ उनले भनिन्। रामधुनी मन्दिरमा चढाइने फलफुल, सतबिजजस्ता खाने कुराहरु प्रसस्त पाइन थालेपछि बाँदरको वथान नै यहाँ बस्न थालेका हुन्। त्यस अलावा रामधुनीको जंगल भित्र लिची, आपजस्ता फलफूल समेत पाइने गरेका कारण यहाँ बाँदर स्थायी बसोबास गर्न थालेका हुन्।  

अहिले रामधुनी मन्दिर क्षेत्रमा बाँदरको संख्या बढेको छ। तर, यकिन संख्या भने किटान गर्न सकिदैन्। रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले पनि बाँदरको व्यवस्थापन गर्ने योजना नबनाउँदा अहिले यस मन्दिर क्षेत्र अस्तव्यस्त बनिरहेको छ।

‘बाँदरले मन्दिरमा आउने धर्मावलम्बीबाट खानेकुराको आशा गर्नु स्वभाविक हुन्छ,’ रामधुनी बाबा वनखण्डी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले भने, ‘अहिलेसमम ठूलो घटना भएको छैन।’ रामधुनीको इतिहास त्रेता युगमा राम भगवान आएर बसेको स्थानको रुपमा चिनिन्छ। यहाँ अस्ना प्रजातिको मुडाको निरन्तर जलाई रहिन्छ। त्रेता युग देखि अहिलेसम्म निभेको छैन। 

भगवान राम भारतको आयोध्यापुरबाट जनकपुर हुँदै पूर्व आएका बेला बास बसेको स्थान पनि किम्बदन्तीमा उल्लेख छ। रामले बालेको आगो निभ्न नदिईकन बाबा वनखण्डीले त्यसलाई उजागर गरेको पाइन्छ। यसको काठको विगुत प्रसादको रुपमा लगाउने चलन छ। सखुवामा आप फल्छ भन्ने किम्बदन्ती छ।

रामधुनी मन्दिर परिसरमा पोखरी पनि छ। यसलाई सीता कुन्ड भनिन्छ। यहाँ बालचतुदर्सी, रामनवमी, शिवरात्री र साउन महिनाको हरेक सोमबार मेला लाग्ने गर्छ। रामधुनी पुग्नाका लागि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झुम्काबाट नौ किलोमिटर पश्चिम पर्छ। इटहरीबाट भने झुम्का हुँदै १५ किलोमिटर दुरीमा छ। इनरुवाबाट भोक्राहा हुँदै २० किलोमटर दुरीमा रामधुनी मन्दिर पर्छ। 

प्रकाशित: २ फाल्गुन २०७८ १२:४४ सोमबार

सुनसरी रामधुनी मन्दिर