समाज

मनाङ बाढीः वर्षाअघि नै बस्ती जोगाउने पहल

अध्ययन गर्न विज्ञ टोली मनाङमा

मनाङको तालगाउँ जोगाउने बारे अध्ययन गर्न पुगेको विज्ञको टोली र सर्वसाधारण। तस्बिरः नागरिक

हिमालपारिको जिल्ला मनाङमा गत जेठ र असारमा आएको बाढी पहिरोका कारण बिस्थापित परिवार र जोखिममा रहेका पूर्वाधार तत्कालै जोगाउने पहल थालिएको छ। आगामि वर्षा अघि नै बस्ती र पूर्वाधार जोगाउन गरि काम थालिएको स्थानीय प्रशासनले बताएको छ।  

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार नासोँ गाउँपालिका– १ तालगाउँको बस्ती सहित नासोँ–८ को ताचेको पहिरो नियन्त्रणका लागि पहल थालिएको हो। ताचेको पहिरो र तालगाउँको बस्ती जोगाउने बारे अध्ययन गर्न गृह मन्त्रालयमार्फत विज्ञको टोली आइतबार मनाङ पुगेको छ। आचार्यका अनुसार आगामि वर्षा अघि नै तालगाउँको बस्ती जोगाउने गरि काम गरिनेछ।  

‘वर्षा अघि नै बस्ती जोगाउनुपर्ने हुन्छ, ढिला गर्नु हुँदैन। त्यस्तै पहिरो नियन्त्रणका लागि पनि काम गर्न जरुरी छ,’ आचार्यले भने, ‘वर्षा अघि नै बस्ती नजोगाउने हो भने थप क्षति हुन सक्छ । तत्कालै काम नगर्ने हो भने आगामि वर्षायाममा पनि बस्तीले थप क्षति भोग्नुपर्ने जोखिम छ।’ अहिले आएको भूगर्भविद सहितको प्राविधिक टोलीले कुन ठाउँमा के कस्ता पुर्वाधार बनाएर बस्ती जोगाउन सकिन्छ भनेर अध्ययन गरिने उनले बताए। त्यस्तै पहिरो नियन्त्रणका लागि पनि विज्ञहरुले अध्ययन गर्नेछन। जिल्लाको सबै जोखिम गर्न थप विज्ञको टोली पनि आउने उनले बताए।

‘तत्कालका लागि तालगाउँको बस्ती जोगाउन जरुरी छ। आगामि वर्षा अघि नै बस्ती जोगाउन नसक्ने हो भने आगामि वर्षामा थप क्षति हुनसक्छ,’ उनले भने, ‘तत्काल गर्नुपर्नै काममा तालगाउँको बस्ती जोगाउने र ताचेको पहिरो नियन्त्रण हो।’ ताचेको त्यो पहिरो रोक्न पहल नगर्ने हो भने थप क्षति हुनसक्ने उनले बताए।

उनका अनुसार बस्ती जोगाउन र पहिरो नियन्त्रण गर्न मस्र्याङदी नदीको वहाव गाउँ पस्न रोक्नेगरि भौतिक पूर्वाधार बनाउनुपर्छ। के कस्ता पूर्वाधार बनाउने भनेर भूगर्वविद सहितको टिमले प्रतिवेदनमा उल्लेख गर्ने पनि उनले बताए। ‘अहिले आएको प्राविधिक टिमले प्रतिवेदन दिएपछि काम सुरु भईहाल्छ। वर्षा अघि नै सबै काम सक्नुपर्छ,’ उनले भने।  

प्रजिअ आचार्यका अनुसार प्रारम्भिक अनुमानमा तालगाउँमा समथर र फराकिलो हुँदा मस्र्याङदी नदीको पानीले सहजै निकास पाएको छैन। नदीको पानी निकास हुने ठाउँमा बढेमानका ढुंगाले वहाव रोकेको छ। ढुंगाले वहाव रोक्दा वर्षायामको नदीको भेल बस्तीतिरै फर्किने गरेको छ।  

‘ढुंगाले वहाव रोकेको छ। वहाव रोकिएपछि माथिबाट आएको पानी पुन फर्केर बस्तीतिरै पुग्छ। भूमरी परेजस्तै हुने गरेको छ,’ उनले भने, ‘त्यसले गर्दा कटान बढी हुन्छ। वहाव सहज बनाउन पुल नजिकै निकास खोल्नुपर्छ। ढुंगाले वहाव रोकेका कारण त्यहाँ पानी घुमिरहेको छ।’ माथिबाट आउने बाढीले समथर भूभागमा घुमिरहँदा बस्तीतिर वहाव फर्किने गरेको उनले बताए।  

बस्तीमा खोलाको वहाव पस्ने भएकोले त्यहाँ कटान हुने गरेको पनि उनले बताए। यसअघि पनि जाली लगाएर तालगाउँमा पस्ने पानीको वहाव रोक्ने प्रयास भएपनि त्यो असफल भएको उनले बताए। ‘बलियो गरि पर्खाल बनाउनुपर्छ वा नदीलाई सहज निकास दिनुपर्छ। ठुलो बाढी आउने बेलामा अवरोध भएको छ, त्यो अवरोध खोल्नुपर्छ,’ उनले भने। उनका अनुसार तत्काल गर्ने कामका लागि कति बजेट आवश्यक भन्ने पनि अझै टुंगो छैन।

वर्षायामको त्यो बाढीको मारमा सबैभन्दा बढी नासोँ गाउँपालिका–१ तालगाउँका बासिन्दा परेका थिए। तालगाउँमा ४३ घर छन। मस्र्याङदी नदी किनारसँगैको बस्ती तालगाउँका अधिक घरमा बाढी पसेको थियो। बाढीको चपेटामा परेका त्यहाँका गाउँलेले अझैपनि गतिलो बास बनाउन पाएका छैनन। स्थानीयका अनुसार यो पटक बाढीको चपेटामा परेको तालगाउँका बासिन्दा आगामि दिनमा पनि उत्तिकै जोखिममा छन्। किनभने मस्र्याङदी नदीले सबैभन्दा पहिला डुबाउँदा तालगाउँ प्रभावित हुनेछ । खोलाकिनारमै बस्ती हुँदा अलिकति वहाव बढ्नासात बस्तीमा छिर्ने त्रास हुन् ।  

नासोँ–१ का अध्यक्ष झलकबहादुर गुरुङ भन्छन, ‘तत्काल बस्ती नजोगाउने हो भने आगामि वर्षामा पनि पुन क्षति हुन सक्छ। हिमालबाट उत्पत्ति भएको नदी भएकोले गर्मि बढेसँगै हिउँ पग्लेर नदीमा पानीको वहाव बढ्न थाल्छ।’ समथर भौगोलिक बनोटका कारण पनि तालगाउँमा पानी जम्मा हुने गरेको बताए।  

स्थानीय मीनराशी गुरुङका अनुसार तालमा नजिकैको नाचे, ओडार र घेराङ लगायतका गाउँबाट झरेर बस्ती बसेको थियो। यो गाउँ अन्नपूर्ण फेरो पदमार्गमा पर्छ। वरिपरि अग्ला चुचुरा र खोँचको समथर मस्र्याङदी किनारमा यो बस्ती छ। विश्वकै प्रख्यात पदमार्गमा अन्नपूर्ण फेरो परेर स्वदेशी र विदेशी पर्यटको आउजाउ सुरु भएपछि माथिल्लो भेगका गाउँले ताल झरेर चिया पसल सुरु गरेका थिए। पर्यटनले व्यापकता पाउँदै गर्दा तालमा होटल र बसोबास बढ्दै गएको थियो।

स्थानीय भानु माविका शिक्षक समेत रहेका सिंहबहादुर गुरुङका अनुसार बाढीपरहोपछि तालगाउँका ४३ घरका बासिन्दाले पुर्नबासका लागि फाराम भरेका छन। पुर्नबास रोजेपनि यत्तिकै अवस्थामा गाउँलेलाई जीवन धान्न भने गाह्रो रहेको उनी बताउँछन। ‘बेला छँदै जोगिनुको विकल्प छैन,’ उनले भने, ‘अहिले ढिला गरेमा वर्षामा क्षति हुनसक्छ । त्यही भएर तदारुकता देखाउन जरुरी छ।’  

मनाङका बाढीपीडितले अहिलेसम्म केही रकम पाइसकेका छन। तीनलाख रुपैयाँका दरले अहिले गाउँलेले रकम लगिसकेका छन। गण्डकी प्रदेश सरकारले पूर्ण रुपमा घर गुमाएका परिवारका लागि दुईलाख र स्थानीय तहले एकलाख गरि तीनलाख रुपैयाँका दरले रकम दिईसकेको छ।

प्रकाशित: १ फाल्गुन २०७८ १२:१३ आइतबार

मनाङ बाढी–पहिरो