समाज

भारतबाट आएर बाँके र बर्दियामा डकैती

गत माघ १७ गते बाँकेको खजुरा गाउँपालिका ‘डि’ गाउँका सुन व्यवसायी हरिप्रकाश सुनारको घरमा डकैती गरी ५० हजार रूपैयाँ, साढे ३ तोला सुन र मोटरसाइकल लुटिएको थियो। अज्ञात समूहले राति करिब १ बजेको समयमा परिवारका सबै सदस्यलाई बन्धक बनाएर घरमा डकैती गरेको थियो।

सो समूह त्यसबेला घर पछाडीको जाली ढोका र भित्री ढोका फुटाएर घरमा प्रवेश गरेको थियो। बन्दुक र धारिलो हतियार देखाएर डकैती गरेको उक्त समूहको तत्काल भने पहिचान हुन सकेन।बन्धक बनाइएका सुनारको परिवारलाई छिमेकीले उद्धार गरेका थिए। गत पुस २९ गते राति पनि छिमेकी जिल्ला बर्दियामा यस्तै घटना भएको थियो।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ सितला बजारका पर्शुराम सार्कीको घरमा पेस्तोल देखाएर नगद ३ लाख ३५ हजार र सुन लुटियो। घरका सदस्यलाई त्रास देखाएर लुटपाट गरी उक्त समूह त्यहाँबाट फरार भएको थियो। प्रहरीले अनुसन्धान गर्दा पनि उनीहरूको तत्काल पहिचान हुन सकेन। नेपालमा यसरी श्रृंखलावद्ध डकैती गर्ने उक्त समूह अन्ततः भारतीय रहेको पुष्टि भएको छ। 

भारतबाट आएर उक्त समूहले बाँके र बर्दियामा डकैती गरिरहेको प्रहरीले बताएको छ। भारत रूपैडिहाको निवियाका २६ वर्षीय डब्लु मनिहार र भारत बाबागन्जस्थित बाबाकुटीका २८ वर्षीय निजामुद्दिन कवडिया रहेको पाइएको हो। यसअघि जस्तै हतियार देखाएर डकैती गर्दै गरेको उक्त समूहलाई बाँके प्रहरीले शनिबार भने पक्राउ गर्न सफल भयो।  

प्रकाशित: १ फाल्गुन २०७८ ०५:०७ आइतबार

अज्ञात समूह सुन व्यवसायी हरिप्रकाश सुनार