समाज

धार्चे पनि समेटेर एमक्यापको म्याद थप्न माग

मनास्लु क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को म्याद सकिएको छ । म्याद सकिएको डेढ वर्ष नाघिसक्दा समेत सरकारले म्याद थपको निर्णय गरेको छैन। ‘एमक्यापको पहिलोपटक १०, दोस्रोपटक १० र तेस्रो पटक डेढ वर्ष गरी म्याद थपिएको थियो,’ एमक्याप गोरखाका प्रमुख सत्यनारायण शाहले भने, ‘अहिले म्याद सकिएको छ, हामीले म्याद थपका लागि पटकपटक अनुरोध गर्‍यौं तर भएको छैन।’

सरकारले म्याद थप नगरे पनि एमक्यापले गोरखामा काम भने निरन्तर गर्दै आएको छ। म्याद थप नहुँदा एमक्यापले कानुनी रूपमा काम गर्न पाएको छैन। दिगो व्यवस्थापनका लागि कार्यक्रम अगाडि बढाउन नसकिएको प्रमुख शाहले बताए। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्र्तगत एमक्यापले काम गर्छ । कोषले वन मन्त्रालय मार्फत म्याद थपका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको बताए पनि कुनै निर्णय नआएको एमक्याप गोरखाले जनाएको छ।

प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सम्पदाको संरक्षण, जगेर्ना, विकास र प्रचारप्रसारको काम एमक्यापले गर्दै आएको छ। जडीबुटी बिक्री गर्न छुटपुर्जी दिने, सिफारिस गर्ने, संरक्षणसम्बन्धी तालिम, प्रशिक्षण, अभिमुखीकरण लगायत काम म्याद थप नहुँदा रोकिएको एमक्यापका प्रमुख शाहले बताए। स्टाफलाई व्यवस्थापन गर्न तथा कार्यालय सञ्चालनमा समेत समस्या भएको उनको भनाइ छ।

तिब्बतसँग सिमाना जोडिएको गोरखाको चुमनुब्री गाउँपालिकाभित्र एमक्यापको कार्यक्षेत्र रहेको छ। सँगैको धार्चे गाउँपालिकाले पनि एमक्यापको कार्यक्षेत्र विस्तारका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्राचार गरेको छ। गाउँ कार्यपालिकाबाट निर्णय गरेर धार्चे गाउँपालिकामा पनि एमक्यापको कार्यक्रम सञ्चालनका लागि अनुरोध गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए। ‘चुमनुब्री र धार्चेको हावापानी, प्राकृतिक सम्पदा मिल्दोजुल्दो छ, वन वातावरण र स्थानीयको रहनसहन पनि मिल्ने भएकाले एमक्यापको कार्यक्षेत्र १० वर्षका लागि विस्तार गर्न माग गरेका हौं,’ उनले भने।

धार्चे मनास्लु पर्यटन विकास समितिले पनि धार्चे गाउँपालिकामा एमक्यापको कार्यक्षेत्र विस्तारका लागि भन्दै वन तथा वातावरण मन्त्रालयमा पत्राचार गरेको अध्यक्ष साने गुरुङले बताए। ‘मनास्लु संरक्षण क्षेत्र आयोजनाको संरक्षणभित्र रह्यो भने धार्चेको वातावरण, वन, पर्यटन, स्थानीयको संस्कृति लगायतको प्रवर्द्धन हुनेछ,’ उनले भने।

प्रकाशित: १ फाल्गुन २०७८ ०३:०७ आइतबार

मनास्लु क्षेत्रको व्यवस्थापन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मनास्लु संरक्षण क्षेत्र आयोजना