समाज

मनषा थाइफुड्स उद्योगमा आगलागी

झापाको मेचीनगर नगरपालिका १४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा आज बिहान आगलागी भएको छ। आगो अहिलेसम्म पनि निभाउन सकिएको छैन।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालकाअनुसार उद्योगमा बिहान चार बजे आगलागी भएको हो। आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकल प्रयोग गरिएको छ। आगो अझै नियन्त्रणमा आइनसकेको ढकालले बताए।

ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगो निभाउन प्रयासरत छन्। विसं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको उक्त उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो।

उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिए।  बिहानीपखमा आगो लागेकाले मानवीय क्षति भने नभएको उनले बताए। -रासस

प्रकाशित: २९ माघ २०७८ ०२:३४ शनिबार

आगलागी मनषा थाइफुड्स उद्योग