समाज

चितवनको राप्तीमा बर्डफ्लू संक्रमण देखियो

बर्डफ्लू रोगको संक्रमण पुनः देखिएको छ। राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो। प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना संकलन गरी काठमाडौँ पठाइएकामा बिहीबार संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार बर्डफ्लूको एचपाइभ एनवान संक्रमण देखिएको हो। उक्त फर्ममा दुई हजार कुखुरा  छन्। उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उनले बताए। फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ।

शङ्कास्पद फर्महरुको नमूना संकलन गरी परीक्षण गरिने उनले जानकारी दिए। बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उनको भनाइ छ।

प्रकाशित: २८ माघ २०७८ ०७:४७ शुक्रबार

बर्डफ्लू राप्ती नगरपालिका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ