समाज

भुम्लू गाउँपालिकामा १२०० परिवार लालपूर्जाविहीन, जमिनबारे छानबिन गर्न टोली पठाइने

पैँतालीस वर्षदेखि लालपूर्जाविहीन काभ्रे भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवारको जमिनबारे छानबिन गरिने भएको छ। यसका लागि आगामी फागुन पहिलो साताभित्रै पुनः टोली फिल्डमा पठाइने भएको छ।

आन्तरिक विवादलगायत कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब डेढवर्ष छानबिनको काम रोकिएको थियो। गाउँपालिकाको दुई वडा ७ र ८ मा जग्गा विवाद छानबिन गरी लालपूर्जा वितरणका लागि गाउँपालिका, वडा तथा जिल्लास्थित मालपोत र नापी कार्यालयबीच बिहीबार एक हप्ताभित्रै पुनः टोली पठाउने सहमति भएको  हो।

दुवै वडामा २०७६ साल पुसमा नापी र मालपोतका दुई कार्यालय स्थापना गरिएको थियो। यसलगत्तै नेपालमा पनि महामारी फैलिएपछि थालिएको काम रोकिएको हो। कोरोना जोखिम घटेपछि २०७७ मंसिरबाट पुनः थालेपछि केही काम हुँदै थियो पुनः कोरोनाको दोस्रो लहरले छानबिनको कामलाई जहाँको त्यही थाँती राखिदियो।

गत पुसदेखि काम पुनः थाली टोली पठाइने तयारी गरेपनि कोरोना तेस्रो लहरका कारण नसकिएको नापी कार्यालय प्रमुख राम विनयकुमार सिंहले बताए। उनका अनुसार त्यसयता छानबिनका लागि टोली पठाउन मालपोत कार्यालय र स्थानीय तहसँग छलफल तथा समन्वयपछि हप्ताभित्र काम सुचारु गर्ने सहमति भएको हो। करिब दुई वर्षदेखि स्थानीयस्तरका नापी र मालपोतका कार्यालय कर्मचारीविहीन बनेका थिए।

फिल्डमा खटेको नापीको टोली स्थापनाको केही महिनापछि नै फर्किएपछि ४५ वर्षदेखि लालपूर्जाको पर्खाइमा बसेका करिब एक हजार दुई सय परिवारमा पुनःनिरासा छाएको थियो भने लालपूर्जा वितरणमा थप अन्योलता कायम हुँदै आएको थियो। उक्त गाउँपालिकाको सात र आठ नम्बर वडामा स्थानीयवासीको जग्गाधनी र जग्गाको छानबिन गरी लालपूर्जा दिन जिल्लास्थित कार्यालयमा सिफारिस गर्न दुई कार्यालय राखिएको थियो। 

तत्कालीन नक्शाङ्कनको अवस्थामा सीमाविवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपूर्जाविहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपूर्जा प्राप्तिका लागि निवेदन दर्ता गरेका थिए। कार्यालयका प्रमुख सिंहले तीन लहरको कोरोना सङ्क्रमणका कारण करिब डेढ वर्ष भुम्लु गाउँपालिकाको जमिनको छानबिन गरी लालपूर्जा वितरणको काम प्रभावित बनेको हो।

उनका अनुसार करिब ३०० को लालपूर्जा तयार भइसकेको छ। साविकको भुम्लुटार र फलाँटे गाउँविकास समितिबीचको सिमाना विवादका कारण ४५ वर्षदेखि यी दुई तत्कालीन गाविसका सर्वसाधारणले हालसम्म पनि आफूले प्रयोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) प्राप्त गर्न सकेका छैनन्।

कार्यालयका अनुसार ७ नम्बर वडास्थित कार्यालयमा ९३२ र ८ नम्बरमा ३१७ निवेदन दर्ता भएको छ। नापी कार्यालयद्वारा निवेदन बुझ्ने काम भएको तर थप प्रक्रिया अघि बढेको छैन। कार्यालयले मालपोत कार्यालयबाट जमिनको सुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा श्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्तागरी लालपूर्जा दिन सकिने जनाउँदै आएको छ।

हाल दुवै वडामा तेस्रोपक्ष व्यक्तिमा किनबेच नभएको जग्गामात्रै दर्ता गर्न सकिने तथा अन्यको हकमा कानुनी आधारमा निक्र्यौल गरी प्रक्रिया थाल्नुपर्ने देखिएको जनाइएको छ। नापी र मालपोत कार्यालयका कर्मचारीले दुई वडाको सिमाङ्कनको काम सुचारु नगर्दा अन्योलता छाएको र लालपूर्जावहीनमा निराशा छाएको वडा नं ७ का स्थानीयवासी रमेश खरेलले बताए।

खरेलका अनुसार लामो समयपछि लालपूर्जा पाउने आशमा बसेकामा नापी र मालपोत कार्यालयको बेवास्ताका कारण थप अन्योलता छाएको स्थानीयवासीले आरोप लगाउँदै आएका छन्। भुम्लु गाउँपालिकाले भने काम सुचारु गराउन जिल्लास्थित नापी र मालपोत कार्यालयलाई छुट्टाछुट्टटै पत्राचार गरेको थियो।

 अध्यक्ष गुमानध्वन कुँवरका अनुसार साविकको पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा खेतीयोग्य जमिन परेपछि त्यो जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण तत्कालीन नापी टोली फर्किएको थियो। रासस

प्रकाशित: २८ माघ २०७८ ०७:३६ शुक्रबार

काभ्रे भुम्लू गाउँपालिका लालपूर्जाविहीन