समाज

चुनाव घोषणापछि एकै दिन ८ सचिवको सरुवा

चुनावको तिथि घोषणापछि सरकारले एकैदिन ८ जना विशिष्ट श्रेणी (सचिव)सरहका कर्मचारीको सरुवा गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ८ जना सचिवको सरुवा गरेको एक मन्त्रीले जानकारी गराए।

खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय लगिएको छ भने खानेपानी मन्त्रालयमा विज्ञान तथा प्रविधि सचिव सुरेश आचार्यलाई लगिएको छ। खानेपानी मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामा खानेपानीमा आचार्यलाई ल्याइएको हो।

मन्त्रिपरिषद्ले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा पनि सचिव फेरबदल गरेको छ। भूमि व्यवस्था सचिव गणेश पाण्डेलाई उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमा लगिएको छ। प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव रामप्रसाद थपलियालाई भूमि व्यवस्थामा लगिएको छ। वाणिज्य सचिव दिनेश भट्टराइलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ।

कसैलाई थन्क्याउनु प¥यो भने प्रधानमन्त्री कार्यालयमा लग्ने परम्परा जस्तै बनेको छ। त्यसैले प्रधानमन्त्री कार्यालयमा धेरैजसो समयमा दरबन्दीभन्दा बढी सचिव कार्यरत हुने गर्छन्। अहिले प्रधानमन्त्री कार्यालयमा ८ सचिव कार्यरत छन्।

प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समुहमा राखिएका मधुसुदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा लगिएको छ। यसैगरी, सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत देवकुमारी गुरागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगिएको छ। स्वास्थ्य मन्त्रालयमा काजमा लगिएकी यामकुमारी खतिवडालाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ।

यसैगरी, सरकारले ठूलो संख्यामा सहसचिव सरहका कर्मचारीको सरुवा गरेको छ। यो साता एकै पटक २९ जना सहसचिवहरूको सरुवा गरिएको संघीय मन्त्रालयका सचिव सुरेश अधिकारीले पुष्टि गरे। यसैगरी अर्थ मन्त्रालय मातहतका केही महत्वपूर्ण ठाउमा उच्च कर्मचारीहरूको जिम्मेवार फेरबदल गरिएको छ। अर्थमन्त्री जनार्दन शर्मा र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रालय मातहतका विभागमा नेतृत्व फेरबदल गरेका छन्।

भन्सार विभागका महानिर्देशक नारायण सापकोटालाई त्यहाँबाट सरुवा गरिएको छ। उनलाई लुम्बिनी प्रदेश लगिएको छ। अर्थमा गएको डेढ दुई महिनामा शर्माको चाहनामा सापकोटालाई भन्सार लगिएको थियो। शर्माले बजेट महाशाखा प्रमुख भूपाल बराललाई राजस्व व्यवस्थापन महाशाखामा पठाएका छन्। वजेट महाशाखामा जाजरकोटका चक्र बुढालाई ल्याइएको छ।  

वैदेशिक रोजगार विभागमा पनि नेतृत्व फेरिएको छ। विभागको महानिर्देशकमा शेषनारायण पौडेललाई लगिएको छ भने त्यहाँ कार्यरत दीपक काफ्लेलाई मन्त्रालय तानिएको छ। पौडेल यसअघि श्रम मन्त्रालय अन्तर्गत श्रम तथा सामाजिक सुरक्षा महाशाखामा कार्यरत थिए। त्यहाँभन्दा पहिले उनी भूमि व्यवस्थापन विभागको महानिर्देशक थिए। भूमि व्यवस्थापनमा हुँदा उनले जग्गा प्रशासनमा अनलाइन सेवा सुरु गरेका थिए। उनले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाएका थिए।

यसैगरी विभागको मातहतमा इपिएस शाखाको निर्देशकमा पुष्पराज कटुवालाई नियुक्त गरिएको छ। उनको ठाउँमा कार्यरत सुरेश राउतलाई मन्त्रालय तानिएको छ। कटुवाल यसअघि रोजगार समन्वय तथा सूचना शाखाको निर्देशक थिए।

प्रकाशित: २८ माघ २०७८ ००:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App