समाज

सामुदायिक स्वास्थ्य एकाइलाई उपकरण हस्तान्तरण

अत्याधुनिक प्रयोगशाला सेवा सुरु भएसँग झापा क्षेत्र नं १ का सामुदायिक स्वास्थ्य एकाइ थप सुविधासम्पन्न बन्न थालेका छन्।  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत मेचीनगरका विभिन्न आठ वडा र बुद्धशान्ति गाउँपालिकाको तीन वडामा रहेका चार सामुदायिक स्वास्थ्य एकाइलाई सो सेवा सञ्चालार्थ आवश्यक प्रयोगशाला उपकरण उपलब्ध गराइएको थियो।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को योजनाअनुरुप गत साउनमा रु ५७ लाख बराबरको प्रयोगशाला सामग्री उपलब्ध गराइएको सांसद कार्कीका स्वकीयसचिव शिबु बुढाथोकीले जानकारी दिए। ती मध्ये मेचीनगरका छ वडालाई हेमाटोलोजी एनालाइजर (पार्ट थ्री) मेसिन प्रदान गरिएको छ। यसले एकैपटक धेरै नमूना परीक्षण गर्न सकिन्छ।

मेचीनगर–११ को स्वास्थ्य एकाइ धाइजन, वडा नं १४ को स्वास्थ्य एकाइ दुहागढी, वडा नं १० को स्वास्थ्य एकाइ धुलाबारी, वडा नं १५ को स्वास्थ्य एकाइ ज्यामिरगढी, वडा नं ६ को स्वास्थ्य एकाइ काँकरभिट्टा र वडा नं ४ को स्वास्थ्य एकाइ बाहुनडाँगीलाई हेमाटोलोजी एनालाइजर उपलब्ध गराइएको हो।

मेचीनगरका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले नगरका ११ वडाका स्वास्थ्य एकाइमा अत्याधुनिक प्रयोगशाला सेवा सञ्चालन हुन लागेको जानकारी दिए। हेमाटोलोजी ‘एनालाइजर मेसिन’ महङ्गो र अत्याधुनिक भएकाले प्रयोगशाला परीक्षणको नतिजा गुणस्तरीय आउने उनको भनाइ छ।

अब वडास्तरका स्वास्थ्य एकाइबाटै अत्याधुनिक प्रयोगशाला सुविधा प्राप्त हुने भएपछि प्रयोगशाला सेवाका लागि अन्यत्रै धाउनुपर्ने स्थानीयवासीको बाध्यता हट्ने भएको छ। त्यस्तै  साझेदारी कार्यक्रमअन्तर्गत नै मेचीनगरका १६  विद्यालयलाई रु ७० लाख, भद्रपुर नगरपालिका चार विद्यालयका लागि रु २० लाख र बुद्धशान्तिका छ विद्यालयलाई रु ३० लाख बजेट प्रदान गरिएको छ।

ती विद्यालयमा सूचना प्रविधि प्रयोगशाला, खानेपानीलगायत भौतिक संरचना निर्माणका लागि कूल एक करोड २० रुपैयाँ लाख उपलब्ध गराइएको स्वकीयसचिव बुढाथोकीले जानकारी दिए।

प्रकाशित: २७ माघ २०७८ ०८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App