समाज

अपाङ्गता भएकाहरूलाई रोजगारीको पहल

अपाङ्गता भएका व्यक्तिहरूका लागि उर्जाशिल अवसर (फाउड) परियोजनाले सुनसरी र मोरङका विभिन्न ‘जव पोर्टल’हरूसँग अन्तक्र्रिया गरी अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीका लागि प्राथमिकता दिन  आग्रह गरेको छ। बुधबार विराटनगरमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिन आग्रह गरेको हो।  

कार्यक्रममा जवपोर्टलका प्रतिनिधिहरूले सामान्यतया अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिन रोजगारदाताहरू हिचकिचाउने गरेको बताए। तर, केहि रोजगार दाताहरूले भने अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी दिंदा अन्यले भन्दा राम्रो काम गरेको भन्दै प्रशंसा गरेको  अनुभव पनि आफूहरूसँग रहेको बताए। कार्यक्रममा फाउड परियोजनाका क्लष्टर म्यानेजर विपीन दासले अपाङ्गता भएका व्यक्तिलाई औपचारिक रोजगारीमा लगाउन पहल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। जव पोर्टलको माध्ययमबाट अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारदातासँग कसरी जोड्न सकिन्छ र कसरी औपाचारिक क्षेत्रमा रोजगारी दिन सकिन्छ भन्नेबारेमा छलफल गरिएको  जानकारी दिए।  

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ का अध्यक्ष नविन ढुंगानाले अपाङ्गता भएका व्यक्तिलाई सरकारले आरक्षणको व्यवस्था गरेर केहि सिटहरूमा भए पनि रोजगारी  सुनिश्चित गरेपनि निजी क्षेत्रमा भने अपाङ्गता भएका व्यक्तिहरूले न्यून मात्रामा रोजगारी पाइरहेको बताए। उनले अपाङ्गता भएका व्यक्ति प्रतिको धारणा परिवर्तन जरुरी रहेको बताए। कार्यक्रममा सुनसरी र मोरङका विभिन्न  जव पोर्टलका सञ्चालकहरू, वहिरा संघका प्रतिनिधिहरू, राष्ट्रिय अपाङ्ग महासंघ,  विराटनगर महानगरपालिकाका लगायतका विभिन्न क्षेत्र र निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित: २६ माघ २०७८ १३:३१ बुधबार