समाज

बाढी पीडितले सरकारले घोषणा गरेको राहत प्याकेज पाउन सकेनन्

झन्डै चार महिनाअघि बेमौसमी वर्षासँगै आएको बाढीका कारण क्षति भोगेका सुनसरीका किसानले अझैसम्म पनि सरकारले घोषणा गरेको राहत प्याकेज पाउन सकेका छैनन्। किसान राहतको प्रतिक्षामा छन्।  

कात्तिक २ गते साँझको बेमौसमी वर्षा र बाढीले चार करोड बराबरको धानबाली नष्ट गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले संकलन  गरेको तथ्यांकमा उल्लेख छ। यतिबेलाको बाढीबाट १४ हजार २६९ घर प्रभावित भएका थिए।  

घटनालगतै प्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी आएर विदेशबाट सहयोग मागेर भएपनि बाढी पीडितलाई राहत दिने आश्वासन दिएका थिए। लगतै सरकारले निर्णय गरेर किसानलाई राहत प्याकेज घोषणा गरेको थियो। तर, यतिबेलासम्म प्राप्त गर्न सकेका छैनन्।  

‘सरकारले राहत दिने आशामा पर्खेर बसेका छौं, कहिले पाइन्छ, टुंगो छैन,’ रामधुनी वडा नं. २ का किसान हरिनारायण चौधरीले भने। स्थानीय तहले क्षतिको विवरण अद्यावधिक गरेर जिल्ला प्रसानमा बुझाई सकेको छ। जिल्ला प्रशासनले पनि मान्त्रालय पठाइसकेको जानकारी दिएको छ।  

त्यतिबेलाको बेमौसमी वर्षाले सुनसरीमा सवैभन्दा बढी इटहरीमा क्षति गरेको थियो। इटहरीपछि भोक्राहा-नरसिंह, इनरुवा, हरिनगर, दुहवी, देवानगञ्ज र बराहक्षेत्रमा क्षति गरेको छ। सुनसरीमा बाढीले आठ र पहिरोले पुरिएर दुई गरि १० जनाको मृत्यु भएको छ।  

सुनसरीमा पटकपटक वर्षाले गर्दा सर्वसाधारण पीडित हुँदै आएका छन्। २०७४ साल साउन २७ गते आएको बाढीले विनास निम्त्यिाउँदा सुनसरीमा दुई अर्बभन्दा बढीको क्षति पुगेको थियो। त्यतिबेला सरकारले जिल्लाका १२ वटै स्थानीय तहलाई गरि कुल आठ करोड आठ लाख रुपैयाँ रकम उपलब्ध गराएको थियो। त्यो रकम कुल तीन हजार दुई सय ३२ परिवारलाई घर मर्मत गर्न र लुगा खरीद गर्न भनि उपलब्ध गराएको थियो।

सुनसरीमा कोशीबाट पीडित हुनेको संख्या पनि  २०२२ सालदेखि यता ठूलो संख्यामा छन्।

प्रकाशित: २५ माघ २०७८ १४:०४ मंगलबार