समाज

२० वर्षअघि जेलबाट सुरुङ खनेर भागेका कैदी पक्राउ

तत्कालीन विद्रोही नेकपा माओवादीका नेता तथा कार्यकर्तासँगै सुर्खेत जेल ब्रेक गरेर फरार रहेका एक कैदी २० वर्षपछि पक्राउ परेका छन्। श्रीमती जनपुरा सिंहको हत्या आरोपमा जिल्ला कारागार सुर्खेतमा पुर्पक्षका लागि थुनामा रहेका धनराज सिंह २०५८ माघमा माओवादी सँगै जेल ब्रेक गरेर फरार भएका थिए।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिंहले वीरेन्द्रनगर–९ लाटीकोइलीमा रहेको आफ्नै घरमा २०५८ साउन २८ गते श्रीमती जनपुराको हत्या गरेका थिए। नजपुराका माइतीले सोही दिन प्रहरीमा जाहेरी दिएका थिए। श्रीमतीको हत्या गर्दा उनी प्रहरीको हवल्दार पदमा कार्यरत थिए।

श्रीमती हत्या आरोपमा जिल्ला अदालतले सिंहलाई २०५८ असोजमा पुर्पक्षका लागि कारागार चलान गरेको थियो। उनी पुर्पक्षमै रहेको बेला २०५८ माघ २ गते माओवादी नेता तथा कार्यकर्तासहित ३२ जना कारागारमा सुरुङ खनेर फरार भएका थिए। कारागारबाट भागेका उनी शान्ति प्रक्रियासम्म माओवादी आन्दोलनमा सहभागी थिए।

शान्ति प्रक्रियापछि केही समय माओवादी केन्द्रको तत्कालीन छैठौं डिभिजन कार्यालय दशरथपुरको शैन्य शिविरमा बसेका उनी केही समय भारत गएर घर फर्किएका थिए। कर्णाली प्रदेश प्रहरी कार्यालयको सई नारायण शर्माको टोलीले सिंहलाई घरबाटै सोमबार राति १२ बजे पक्राउ गरेको थियो। जेल ब्रेक गरेर फरार भएका सिंहलाई जिल्ला अदालत सुर्खेतले २०६५ मंसिर १३ गते श्रीमतीको हत्या आरोपमा २० वर्षको कैद सजाय सुनाएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदबहादुर विष्टले जेलमा सुरुङ खनेर भागेका सिंहलाई २० वर्षपछि पक्राउ गर्न सफल भएको बताए। ‘अदालतले कैद तथा जरिवानाको फैसला गरेका तर, भुक्तान नगरेकाहरुको खोजी प्रक्रियालाई तीव्र बनाएका छौं,’ उनले भने, ‘त्यहीँ क्रममा सिंह पनि पक्राउ परेका हुन्।’

श्रीमतीको हत्या गर्दा सिंह ३१ वर्षका थिए।

प्रकाशित: २५ माघ २०७८ १३:५१ मंगलबार