रामेछापको खाडादेवी गाउँपालिकाले केही दिनअघि सार्वजनिक गरिएको जनसंख्याको तथ्यांकप्रति असहमति जनायो। उक्त गणनामा गाउँपालिकाको वास्तविक तथ्यांक नआएको भन्दै गाउँपालिकाले अहिले आफ्नै तबरबाट गणना सुरु गरिसकेको छ।
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले नागरिकसँग टेलिफोनमा भने, ‘राष्ट्रिय जनगणनाका क्रममा वास्तविक तथ्यांक नआएपछि हामीले गाउँपालिकामा गणना सुरु गरेका छौं।’ उनका अनुसार गाउँपालिकाका ९ वटै वडामा गणक खटिएर वास्तविक तथ्यांक संकलनको काम गरिरहेका छन्।
हुन पनि यो गाउँपालिकाको अहिलेको जनगणनाको तथ्यांकलाई हेर्ने हो भने मतदाताभन्दा कुल जनसंख्या कम छ। अध्यक्ष तामाङका अनुसार यो गाउँपालिकाको कुल मतदाता संख्या २२ हजार १ सय ६० छ। तर राष्ट्रिय जनगणनाका क्रममा गणना गरिएको यो गाउँपालिकाको कुल जनसंख्या जम्मा १९ हजार ३ सयमात्रै देखाइएको छ।
‘मतदाता संख्याको तुलनामा जनसंख्या ३ हजारभन्दा कम देखियो,’ अध्यक्ष तामाङले भने, ‘यो कस्तो गणना हो? यो गणनामा कुनै पनि सत्यता नभएपछि हामी आफैंले फेरि गणना थाल्यौं।’ त्यति मात्र होइन, २०६८ को जनगणनाको तथ्यांकभन्दा अहिलेको तथ्यांक ६ हजारभन्दा कम छ।
०६८ मा यो गाउँपालिकाको जनसंख्या २५ हजार ७ सय थियो। ‘गाउँपालिकाको कुरा गर्नुहुन्छ भने अहिले विद्यार्थी संख्या पनि बढेको छ, अनि मृत्युदर पनि घटेको छ, बसाइँ सराइ पनि कम छ’, अध्यक्ष तामाङले भने, ‘अनि जनसंख्या वृद्धि र मृत्युदर कम भैरहेको हाम्रो गाउँपालिकामा कसरी यति ठूलो संंख्यामा जनसंख्या घट्यो?’ दुई वर्षअघि गाउँपालिकाले आफ्नो तबरबाट जनसंख्या संकलन गरेको थियो। त्यो बेला गाउँपालिकाको जनसंख्या ३३ हजार थियो। ‘हामीले ०७६ मा गरेको गणनामा गाउँपालिकाको जनसंख्या ३३ हजार थियो,’ उनले भने, ‘२ वर्षपछि गरिएको राष्ट्रिय जनगणनामा १४ हजारले जनसंख्या कम देखियो। यो सरासर असम्भव र अविश्वसनीय तथ्यांक हो।’
अध्यक्ष तामाङका अनुसार गाउँपालिकाका कयौं बासिन्दाले जनगणनाका बेला आफूकहाँ गणक नै नआएको भनेर गाउँपालिकालाई जानकारी गराएका थिए। ‘धेरै घरमा गणक पुगेकै पनि रहेनछन्,’ उनले भने, ‘यो सूचना धेरै स्थानीयले दिनुभयो। त्यसैले गणना गर्न छुटेकोमा हामी विश्वस्त छौं।’
सल्यानको दार्मा गाउँपालिकाले पनि तथ्यांक संकलनको काम आफैं गर्ने तयारी थालेको छ। गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले भने, ‘यस्तो अविश्वसनीय जनसंख्याको तथ्यांकलाई कसरी आधिकारिक मान्ने?’ उनका अनुसार गाउँपालिकाका राजनीतिक दल तथा सरोकारवालासँग सल्लाह गरेर गाउँपालिकाले आफ्नो तबरबाट पुनः गणना गर्ने तयारी थालिएको छ।
२०६८ को गणनाअनुसार यो गाउँपालिकाको जनसंख्या १९ हजार ९ सय ६६ थियो। तर अहिले गरिएको गणनाका क्रममा यो गाउँपालिकामा ३२ जनामात्रै जनसंख्या बढेको देखियो। अहिलेको गणनामा यो गाउँपालिकाको जनसंख्या १९ हजार ९ सय ९८ देखिएको छ। जबकि गाउँपालिकाले दुई वर्ष अगाडि गरेको तथ्यांक संकलनका क्रममा गाउँपालिकाको जनसंख्या २३ हजार ४ सय १८ थियो। ‘हामीले दुई वर्ष अगाडि गरेको तथ्यांक संकलनका क्रममा गाउँपालिकाको वास्तविक जनसंख्या २३ हजार ४ सय १८ थियो,’ गाउँपालिका अध्यक्ष केसीले भने, ‘२ वर्ष पछाडि अहिले गरिएको गणनाका क्रममा जम्मा १९ हजार ९ सय ६६ जनामात्रै देखियो। यसलाई कसरी विश्वास गर्न सकिन्छ?’ उनका अनुसार यो गाउँपालिकाबाट बसाइँ सराइ धेरै भएको छैन। मृत्युदर पनि घट्दो क्रममा छ। ‘तर जनसंख्या बढेको नदेखिनु, उल्टै हाम्रो दुई वर्षअघि गरिएको गणनामा भन्दा ४ हजारले कम देखिनु, यो त विश्वास गर्नै नसकिने कुरा हो’, उनले भने।
मनाङको नार्पाभूमि गाउँपालिकामा पनि मतदाताभन्दा जनसंख्या झन्डै ५० प्रतिशतले कम देखियो। यो गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ लामाका अनुसार पछिल्लो पटक गरिएको जनगणनाका क्रममा यो गाउँपालिकाको कुल जनसंख्या ४ सय ४२ छ। तर यो गाउँपालिकाको कुल मतदाता संख्या भने ७ सय बढी छ। गाउँपालिकाका अध्यक्ष लामाले भने, ‘विदेशमा गएकाहरू, अनि कामको सिलसिलामा गाउँपालिकाबाहिर वा जिल्लाबाहिर भएकाहरूको गणना नभएकाले मतदाता संख्याभन्दा कुल जनसंख्या कम देखिएको हो।’
लामाले भनेजस्तै अहिलेको जनगणनाका क्रममा रोजगारीको सिलसिलामा देशबाहिर रहेका, जिल्लाबाहिर रहेकाहरूको तथ्यांक गणना भएको छैन। सल्यानको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीका अनुसार वैदेशिक रोजगारीका लागि बाहिर रहेका, कामका लागि भारत गएका तथा रोजगारीका लागि जिल्लाबाहिर रहेकाको तथ्यांक जनसंख्याका रूपमा गणना नहुँदा गाउँपालिकाको जनसंख्या कम देखिएको हो। ‘मान्छे रोजगारीका लागि विदेशमा छ तर उसको गणना भएकै छैन,’ केसीले भने, ‘अनि कामको सिलसिलामा भारतमा रहेका तथा जिल्लाबाहिर रहेकाको पनि गणना भएकै छैन, जनगणनाका क्रममा भएको यो ठूलो गल्तीका कारण जनसंख्यामा कमी देखिएको हो।’ उनका अनुसार जनसंख्यामा देखिने कमीले विकास निर्माणको अवस्थालाई समेत कमजोर पार्छ। ‘जनसंख्याले सरकरबाट हुने बजेट प्राप्तिमा समेत ठूलो असर पार्छ,’ केसीले भने, ‘बजेटमा कमी हुँदा स्वाभाविक रूपमा विकास निर्माणलाई समेत प्रभावित बनाउँछ।’
गणकमा देखिएको कमजोरीले पनि वास्तविक तथ्यांक आउन नसकेको स्थानीय तहका प्रतिनिधि बताउँछन्। ‘पहिला शिक्षक गणनामा खटिएका हुन्थे। उनीहरूले जिम्मेवारी बोध गर्दै वास्तविक तथ्यांक संकलनमा जोड दिन्थे,’ केसीले भने, ‘तर अहिले भर्खरका युवा गणनामा खटिए। कतिपयले गणनाको आइडियासमेत पाएको देखिएन, कतिपयले खाली ड्युटी पूरा गर्ने मात्रै सोचेका कारण पनि प्रत्येक घरघरमा उनीहरू पुगेर वास्तविक तथ्यांक संकलन गर्ने काम गरेको पाइएन।’ उनका अनुसार अहिलेको जनगणनामा मूलतः पहाडी क्षेत्रका अधिकांश स्थानीय तहको जनसंख्या निकै कम देखिएको छ।
के भन्छ केन्द्रीय तथ्यांक विभाग?
जनगणनामा यकिन तथ्यांक नआएको भन्दै केही स्थानीय तहले आफैं गणना थालेको भए पनि केन्द्रीय तथ्यांक विभागले भने जनगणनामा कुनै कमजोरी नभएको दाबी गरेको छ। विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले जनगणनामार्फत आएको तथ्यांक सही भएको दाबी गरे। ‘हामीकहाँ पनि जनसंख्या ०६८ सालको भन्दा किन कम भयो भनेर प्रश्न आएका छन्,’ चौलागाईंले टेलिफोनमा भने, ‘जनसंख्या घटेकै कारण कम आएको हो, त्यसमा अरू कुनै कारणै छैन।’
मतदाता संख्याभन्दा जनसंख्या कम आएको प्रसंगमा उनले निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक नगरेका कारण पनि यो अवस्था देखिएको बताए। ‘निर्वाचन आयोगले मृत्यु भइसकेकाको नाम कटाएको हुँदैन। विदेशमै स्थायी बसोबास गर्नेको पनि नाम कटाएको हुँदैन,’ उनले भने, ‘यसर्थ पनि हाम्रो तथ्यांक र निर्वाचन आयोगको मतदाता तथ्यांकमा फरक आइहाल्छ।’ उनले निर्वाचन आयोगको मतदाता संख्या बास्तविकभन्दा धेरै बढी भएकै कारण निर्वाचनमा कम प्रतिशत मत खस्नेगरेको उदाहरण दिए। उनले भने, ‘किन हरेक निर्वाचनमा ५० देखि ६० प्रतिशत मतमात्रै खस्छ त?’ उनले गणक तथा सुपरीवेक्षक पुगेका बेला घरम कोही नभेटिएका कारण भने जनसंख्यामा केही तलमाथि भएको हुन सक्ने बताए।
प्रकाशित: २२ माघ २०७८ ०६:५४ शनिबार