समाज

बाघ गणनाका लागि राखिएका क्यामरा जंगलबाटै हराउँदै

बाघको गणना गर्नका लागि रौतहटको वनमा राखिएका क्यामरा हराउन थालेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्ज तथा डिभिजन वन कार्यालय संयुक्त रुपले रौतहटको वनमा बाघ गणनाको लागि राखेको क्यामरा हराउन थालेको हो।

जिल्लाको पौराई वन क्षेत्रमा जडान गरिएको क्यामरामध्ये अहिलेसम्म दुई ओटा क्यामरा गायब भएको छ। पौराई वन क्षेत्रमा जडान गरिएका दुई ओटा क्यामरा गायब भएको वन्यजन्तु प्राविधिक टीकाराम थारुले जानकारी गराएका छन्। बाघको गणनाको लागि राखिएका क्यामरा गायब हुन थालेपछि बाघ गणना नै प्रभावित हुने हो कि भन्ने आशंका गरिन थालिएको छ।

रौतहटको बनमा बाघको संख्या बढ्न थालेको अनुमान गरिएको छ। गत वर्ष भएको गणनामा चार ओटा बाघ फेला परेको थियो। एक वर्षमा जिल्लाको वनमा कतिओटा बाघ घटबढ भएको हो भन्ने यकिन गर्नका लागि बाघ गणना हुन थालेको हो। यसै क्रममा जिल्लाको वनमा बाघको सम्भावित बास स्थान र पानी खान आउजाउ गर्ने स्थानमा गरी एक सय २२ क्यामरा जडान गरिएका छन्।

जिल्लाको धनसर खोलापूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री, नुनथर, पौराई, रंगपुरलगायतको वन क्षेत्रमा बाघ गणनाको लागि क्यामरा जडान गरिएका छन्।

बाघ गणनाको लागि जडान गरिएका क्यामरामध्ये दुई ओटा गायब भएपछि हराएको क्यामराको खोजी भइरहेको वन्यजन्तु प्राविधिक थारुको दाबी छ।

जिल्लाको वन क्षेत्रमा बाघ गणनाको लागि क्यामरा जडान गरिएको र त्यसलाई नछुन वन कार्यालयले सार्वजनिक सूचना नै जारी गरेको थियो।

प्रकाशित: २१ माघ २०७८ १५:०७ शुक्रबार