समाज

पश्चिममा लगातार वर्षा

बिहीबारदेखि लगातार वर्षा हुँदा पश्चिमका जिल्लाको जनजीवन प्रभावित भएको छ। वर्षासँगै अत्यधिक चिसो हुँदा यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ।

पश्चिमका क्षेत्रहरुमध्मे सबैभन्दा धेरै वर्षा बाँकेको नेपालगन्ज र ढकेरीमा भएको छ। राँझा एयरपोर्टमा भएको मापन केन्द्रका अनुसार शुक्रबार नेपालगन्जमा १७.२ मिलिमिटर वर्षा भयो। बिहीबार राति ४० मिलिमिटर वर्षा भएको ढकेरी आसपास शुक्रबार १५.४ मिलिमिटर वर्षा भयो। त्यस्तै शुक्रबार खजुरामा ४.४ मिलिलिटर वर्षा हुँदा बिहीबार राति ३६ मिलिलिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ। बिहीबार राति पश्चिमका सबै जिल्लामा १० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। सबैभन्दा बढी बाँके, जुम्ला, जाजरकोट, पाल्पा, गुल्मीलगायतका जिल्लाका ४० मिलिमिटरभन्दा धेरै वर्षा भयो। जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार बिहीबार रातिको तुलनामा शुक्रबार कम वर्षा भयो।

लुम्बिनी प्रदेशको बर्दियामा ६, रुपन्देहीको स्यापुरा ११.६, लुम्बिनीमा ७.६ र भैरहवामा ५.८ मिलिमिटर वर्षा भयो। त्यस्तै प्युठानको सेउलिवाङमा १०.८, हंसपुरमा ६.२, गुल्मीको रीडिमा ४.४, तम्घासमा १०.२, पाल्पाको गैडाकोटमा ५.६, तानसेनमा ५.२ र अर्घाखाँचीमा ७.८ मिलिमिटर वर्षा मापन भएको छ। लुम्बिनीका अन्य जिल्लामा सामान्य वर्षा भएको छ।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेतमा १३.२, जुम्लामा ३.९, मुगुमा ७.९ र सल्यानमा ११ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ। रुकुम पश्चिम, कालीकोट, मुगुलगायतका अन्य जिल्लामा पनि वर्षा भएको छ। यहाँका हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातसमेत भएको छ। यता सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढीमा ६ र बैतडीमा १४.४ मिलिमिटर वर्षा भएको छ। बिहीबार राति केही ठूलो वर्षा भए पनि यहाँका जिल्लामा शुक्रबार कम वर्षा भयो। यहाँका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ।

त्यस्तै तराईका जिल्लामध्ये सबैभन्दा धेरै हुस्सु बाँकेस्थित नेपालगन्ज र धनगढीमा लागेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालगन्ज र धनगढीको पारदर्शीता (भिजिविलिटी) तीन हजार मिटरसम्म थियो।

पश्चिमको अर्काे सहर भैरहवाको भिजिविलिटी आठ हजार मिटरसम्म थियो। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालगन्ज र धनगढीको तापक्रम समान रह्यो। यहाँ ११ डिग्री सेल्सियस तापक्रम हुँदा भैरहवामा ११.६ डिग्री सेल्सियस थियो।

प्रकाशित: २१ माघ २०७८ १४:०० शुक्रबार