समाज

कोसी राजमार्गमा शृंखलाबद्ध दुर्घटना

कोसी राजमार्गअन्तर्गत इटहरी–२ मा मंगलबार दिउँसो ट्यांकरमा टेम्पो ठोकिँदा एक जनाको मृत्यु भएको छ। घाइते तीन जनामध्ये एक जनाको अवस्था चिन्ताजनक छ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ६१०८ नम्बरको ट्यांकरलाई पछाडिबाट को१ह ६४४१ नम्बरको टेम्पोले ठक्कर दिँदा धरान–१५ का ५५ वर्षीय योगेन्द्र बजगाईंको मृत्यु भएको हो। उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो। टेम्पोमा सवार धरान–१३ की ३४ वर्षीया निरु शर्मा सिकिस्त घाइते छिन्। उनको धरानमै उपचार भइरहेको छ। अन्य दुई बालिकाको अवस्था भने सामान्य रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

इटहरी–२ मा ट्यांकर एक्कासि रोक्दा टेम्पो ठोकिन पुगेको थियो। टेम्पो तीव्र गतिमा भएकाले ब्रेक लगाउन खोज्दाखोज्दै ट्यांकरसँग ठोकिन पुगेको थियो। कोसी राजमार्गमा एकपछि अर्को गरी शृंखलाबद्ध रूपमा सवारी दुर्घटना हुने क्रममा पुस ९ गते इटहरी–४ को हलगडामा ट्रकले किच्दा स्थानीय इटहरी–४ कै ६५ वर्षीया देवीमाया खड्काको मृत्यु भएको थियो। इटहरीबाट धरान जाँदै गरेको ट्रकले सुरुमा ठक्कर दिँदा घाइते भएकी खड्कालाई दोस्रो पटक पनि गाडी ‘ब्याक’ गरेर ठक्कर दिँदा मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले दाबी गर्दै आएका छन्।

पछिल्लो समय व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारतसँगको सोझो ‘लिंक’ रोडको रूपमा विराटनगर–धरान सडकखण्ड निर्माण भएर फराकिलो भएसँगै सवारी साधन तीव्र गतिमा गुडाउने गरेकाले गर्दा बढी दुर्घटना भएको स्थानीयको दाबी छ।

एक महिनायता कोसी राजमार्गअन्तर्गत इटहरी क्षेत्रमा मात्र पाँच जनाको सवारी दुर्घटनामा मृत्यु भएको इटहरी प्रहरीले बताएको छ। यस आधारमा पछिल्लो समय कोसी राजमार्ग क्षेत्रमा सवारी दुर्घटना बढ्दो क्रममा छन्। कोसी राजमार्गको पनि सबैभन्दा बढी सुनसरी र मोरङमै दुर्घटना भएका छन्।

यो सडक खण्डमा ट्राफिकको रेकर्डअनुसार साउनयता पुस मसान्तसम्म ३४ जनाको मृत्यु भएको छ। यो अवधिमा कोसी राजमार्गमा भएका दुर्घटनामा ८९ जना सिकिस्त घाइते भएका छन्।

यस अवधिमा ३ सय ३७ वटा दुर्घटना भएको रेकर्डमा उल्लेख छ। हुन त विकास निर्माण हुनु राम्रो पक्ष भए पनि सडक फराकिलो भएसँगै कोसी राजमार्गमा सवारीसाधनको गति तीव्र हुने गरेकाले दुर्घटना बढेको स्थानीयको ठम्याइ छ।

कोसी राजमार्गमा भएका दुर्घटनालाई हेर्दा १ सय ५७ वटा दुर्घटना तीव्र गतिकै कारण भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले बताएको छ। ट्राफिकका अनुसार साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोसी ब्यारेजदेखि झापाको काँकडभिट्टासम्म भएका दुर्घटनामा ६२ जनाको मृत्यु भएको छ।

यो सडकखण्डमा चार सय ६२ वटा सवारी दुर्घटना हुँदा एक सय १३ जना गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा भएका सवारी दुर्घटनामध्ये तीव्र गतिका कारण २ सय ५० वटा दुर्घटना भएको ट्राफिकको रेकर्डमा उल्लेख छ।

यो अवधिमा मेची राजमार्गमा भएका दुर्घटनामा ६ जना र मध्य पहाडी राजमार्गमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।

प्रकाशित: १९ माघ २०७८ ०६:५१ बुधबार

कोसी राजमार्गअन्तर्गत इटहरी–२ टेम्पो ठोकिँदा एक जनाको मृत्यु