समाज

उपचारमा विश्वास गर्दै राउटे समुदाय

बाहिरी समाजदेखी टाढा भएका राउटे समुदायका आफ्नै उपचार विधि छन्। राउटेभित्र खासगरी जडिबुटीबाट उपचार गर्ने आफ्नै वैद्य पनि छन्। त्यही वैद्यबाट राउटेहरू बिरामी हुँदा उपचार गराउँथे। जडिबुटीबाहेक अन्य उपचारमा विश्वास नगर्ने राउटेहरू हिजाआज विश्वास गर्न थालेका छन्। उनीहरू उपचार विधिबाट चोट र रोग निको नहुन थालेपछि आधुनिक उपचारमा विश्वास गर्न थालेका हुन्।

५ वर्षअघि चिसो महिनामा आगोनजिक सुत्दा कपिल शाही पोलिएर थला परे। उनीहरूको जडिबुटीले काम गरेन। लामो समय हुँदा पनि पोलिएको भाग कुहिन थाल्यो अनि बस्तीबाट उपचारका लागि सुर्खेत ल्याए। केही महिनाभित्र पूर्ण रूपमा ठिक भयो। निको भएपछि निकै खुसी भए। कपिल मात्र होइन, आधुनिक उपचार विधिले धमाधम ठिक हुन थालेपछि उपचारका लागि राउटेहरू राजी (तयार) हुने गरेका हुन्। बाहिरी समाजमा उपचार गर्न हुँदैन भन्ने मान्यता राउटेमा थियो।

अछाममा हुँदा पहिलो पटक पोलिएका राउटे युवा कपिललाई लामो कोसिसपछि उपचारका लागि राउटे मुखियाले अनुमति दिएका थिए। चिसोले आँखाबाट आँसु बग्ने समस्या देखिएपछि वृद्ध भक्तबहादुर शाहीले आफैं आँखामा औषधि हाल्न थाले। ‘आँखाबाट आँसु आउन थाल्यो,’ वृद्ध राउटे भक्तबहादुर शाहीले भने, ‘औषधि हाल्न थालेपछि निको हुँदै आएको छ।’ अहिले बस्तीमा सामान्य औषधी राउटेले राख्ने गरेका छन्।

बस्तीमा बिरामीले थला परेका राउटेहरू लामो समयसम्म निको नहुने भएपछि उनीहरू उपचारका लागि अन्य विधिमा विश्वास मान्न थालेका हुन्। हिजोआज उनीहरू दैनिकी बदलिएसँगै परम्परात उपचार विधिले समेत उनीहरूलाई नछोएको अनुमान राउटे समुदायसँग काम गरिरहेका अभियन्ता बताउँछन्। पहिले उनीहरूले तयार पारेको जडिबुटीले काम गरे पनि अहिले जडिबुटीले थाम्न मुस्किल हुने गरेको राउटेहरू नै बताउँछन्।

राउटे बस्तीमा सुर्तीजन्य पदार्थ, मदिरा बिहानैदेखि सेवन गर्ने र पोषणयुक्त खानपान नखाने गर्दा उनीहरूको शारीरिक अवस्था नै कमजोर देखिने गरेको छ। राउटेसँग काम गर्ने संघसस्था र सरकारले भत्ताका नाममा नगद रूपैयाँ बाँड्दा राउटेहरू कुलतमा फस्दै गइरहेका हुन्। जसकारण जन्मदरभन्दा मृत्युदर वर्षेनि बढिरहेको छ। 

प्रकाशित: १९ माघ २०७८ ०६:४६ बुधबार

राउटे जडिबुटी