समाज

जिल्ला प्रशासनद्वारा आलोपालो सेवा

जिल्ला प्रशासन कार्यालय धादिङ। तस्बिरः सरिता/नागरिक

जिल्ला प्रशासन कार्यालय धादिङले आलोपालो गरेर सेवा सूचारु गरेको छ। प्रशासनले आफ्ना कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि माघ ९ गते देखि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको थियो। बन्द गरिएको सेवा मंगलबारदेखि सूचारु गरिएको हो। प्रत्येक बार अनुसार पालिकाका नागरिकलाई आलोपालो गरीे सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ।  

आंशिक रुपमा स्थगन गरिएका सेवाहरु मंगलबारदेखि पुन सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालद्धारा हस्ताक्षरीत सुचनामा भनिएको छ। कोभिड १९ संक्रमण पूर्ण रुपमा नियन्त्रण भइनसकेको हुदा अति आवश्यक परेको अवस्थामा मात्र आफ्नो पालिकाको पालो अनुसार सेवा लिन आउन सेवाग्राहिलाई प्रमुख जिल्ला अधिकारी लम्सालले आग्रह गरेका छन्।  

आलोपालो प्रणाली प्रभावकारिताको अवस्थालाई हेरेर छिटै नै पुनराअवलोकन गरि सेवाग्राहीमैत्री प्रणाली अवलम्बन गर्ने उनले बताए। प्रशासनले पालिकाकाका नागरिकहरुका लागि बार अनुसार सेवा दिने व्यवस्था गरेको छ। 

जसमा धुनीबेसी, थाक्रेका सेवाग्राहीको लागी आईतबार, सोमबार गल्छी, गजुरी, मंगलबार नीलकण्ठ, गंगाजमुना, बुधबार त्रीपुरासुन्दरी, बेनीघाट रोराङ, बिहिबार खनियाबास, नेत्रावती डब्जोङ, शुक्रबार ज्वालामुखी, सिद्धलेक गाउपालिकाका नागरिकहरुले सेवा लिन सक्ने छन्। रुबीभ्यालीका नागरिकहरुले भने कार्यालय खुल्ने सबै बार सेवा लिन सक्ने पनि सुचनामार्फत जानकारी गराइएको छ।

धादिङमा कोभिड १९ को अर्को भेरियन्ट ओमिक्रोमबाट संक्रमित सक्रिय केश ६ सय २१ पुगेको छ। एक जनाको मृत्यु भएको छ भने ८ जना अस्पतालको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।

प्रकाशित: १८ माघ २०७८ १०:३७ मंगलबार