समाज

बागमती नदी किनारामा बनेका अनधिकृत संरचना हटाउन सार्वजनिक सूचना जारी

काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बाग्मती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृत रुपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ।

समितिले ती नदी किनारा छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन ७ दिने र अस्थायी संरचना हटाउन ३ दिने सार्वजनिक सूचना शनिबार (हिजो) जारी गरेको हो। मठमन्दिर, देवालय, धार्मिक स्थान, मूर्तिरहेका स्थान, स्थल, पार्क भन्दापनि नदी र सडकबीचको किनारामा अनधिकृत रुपमा बनेका अस्थायी तथा स्थायी संरचनाहरु हटाउन सार्वजनिक सूचना जारी गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए। उनले आईतबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ती नदी किनारामा संरचना बनाएर बसेका सुकुम्बासी बस्ती हटाउने विषयले भने अहिले प्रवेश नपाएको स्पष्ट पारे।

सूचना अधिकारी अर्यालले ती नदी किनाराका सुकुम्बासी बस्ती हटाउनका लागि उनीहरुको उचित व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भईरहेको पनि जानकारी दिए। समितिका अनुसार थापाथली बागमती किनारामा मात्रै १४५ घरधुरी सुकुम्बासीबस्ती छ। त्यो बस्ती हटाउने विषयमा त्यहाँका समिति, भूमि आयोग र सम्बन्धित निकायहरुसँग छलफल भईरहेको समितिले जनाएको छ।

सो समितिले यसअघि यस्तै प्रकृतिको सूचना सार्वजनिक गरेर गोकर्णदेखि गुह्येश्वरी नदी किनारामा अनधिकृत रुपमा बनेका २७ वटा संरचनाहरु हटाउने काम गरेको थियो। समितिका सूचना अधिकारी अर्यालले आज भन्दा १५ दिन अघि सो खण्डमा अनधिकृत रुपमा बनेका २७ वटा संरचनाहरु हटाउने काम गरिएको बताए। समितिले बागमती नदीको शौन्दर्यमाथि आँच आउने अनधिकृत रुपमा बनेका सबै संरचनाहरु सम्बन्धित पक्षसँग अनुमति लिएर, छलफल गरेर हटाउँदै जाने पनि स्पष्ट पारेको छ।

प्रकाशित: १७ माघ २०७८ ०७:०४ सोमबार