समाज

किसानलाई स्याउ बगैंचा व्यवस्थापनको चटारो

जुम्ला तिला गाउँपालिका–९ का जीवनबहादुर बुढा स्याउ व्यवस्थापनमा व्यस्त छन्। उनी बगैंचाको काँटछाँट र सिँचाइ व्यवस्थापन गर्न तल्लीन छन्। उनी एकाबिहानै बगैंचामा पुग्छन्। दिनभर स्याउ बगैंचा व्यवस्थापनमा जुट्छन्।

स्याउ बगैंचाको व्यवस्थापन नगरेको खण्डमा स्याउ फल्दैन। बगैंचामा विभिन्न रोगको संक्रमण हुन्छ। कमसल स्याउ उत्पादन भए बजारसम्म लैजान समस्या हुन्छ। उनले भने, ‘समयमै स्याउ बगैंचाको व्यवस्थापन गरियो भने गुणस्तरीय फल दिन्छ।’ यहाँको प्रमुख आम्दानीको स्रोत भनेको स्याउखेती नै हो।

यो वर्ष समयमै हिमपात भएकाले स्याउ उत्पादनमा वृद्धि हुने विश्वास गरिएको छ। जुम्लामा पुसदेखि माघ महिनाको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैंचा काँटछाँट गर्ने समय हो। अधिकांश किसानलाई प्राविधिक ज्ञान नहुँदा बगैंचा काँटछाँट तथा व्यवस्थापन राम्रो हुन नसकेको कृषि प्राविधिक बताउँछन्।

जुम्लाको स्याउलाई गुणस्तरीय बनाउन कृषि विशेषज्ञ प्राविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैंचामै पुगेर काँटछाँटदेखि स्याउ व्यवस्थापन गर्न सुरु गरेको परियोजना कार्यान्वयन एकाइ स्याउ सुपरजोन जुम्लाका निमित्त कायलय प्रमुख गंगा पोखरेलले बताइन्।  जिल्लाभर नर्सरीमा सात लाख बिरुवा उमारिएको छ।

जसमध्ये झन्डै तीन लाख ५० हजार बिरुवा गुणस्तरीय रहेका छन्। स्याउ प्रविधिकको सल्लाहअनुसार गुणस्तर बिरुवा किनेर बगैंचा लगाउन किसानलाई आग्रह गरिएको छ। बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन्। खाडल खन्दा एउटादेखि अर्काे स्याउको बिरुवासम्म ६ मिटरको दुरी आवश्यक हुन्छ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले भने, ‘जुम्ला स्याउको सम्भावना भएको जिल्ला हो। स्याउ नै यहाँको आम्दानीको स्रोत हो। तर गुणस्तरीय स्याउ उत्पादनमा अबको कार्यक्रम केन्द्रित हुन जरुरी छ।’

उनले किसानलाई एक मिटर लम्बाइ, एक मिटर चौडाइ र एक मिटर गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने सुझाव दिए। ‘खाडल खन्दा माथिल्लो सतहको माटो एकातर्फ र तल्लो सतहको माटो अर्कोतर्फ राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘किसान यो विषयमा सचेत छन्। पछिल्लो समयमा स्याउ खेतीमा किसानको आकर्षण निकै बढेको छ।’ स्याउले जुम्लाको समृद्धि ल्याउने उनी बताउँछन्।

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोस्ट, रासयनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका बिरुवा रोप्न र समयमै बगैंचा व्यस्थापन गरेर गुणस्तरीय फल उत्पादन गरेपछि मात्र बगैंचा राम्रो देखिने तिला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक सरिता महत बताउँछिन्।

फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका बिरुवा रोपिसक्नुपर्छ। स्याउका बिरुवा रोप्दा पाकेको गोठेमललाई माटोसँग मिसाएर हाल्दा राम्रो हुन्छ। स्याउ खेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको घाम लाग्ने जग्गा उपयुक्त हुन्छ।

जिल्लामा ४ हजार २ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमध्ये करिब १६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको छ। जिल्लाको एक नगरपालिकासहित सबै स्थानीय तहमा स्याउ फल्छ। जुम्लामा गोल्डेन, रेड, रोयल र जोनाथन जातका स्याउ पाइन्छन्।

प्रकाशित: १३ माघ २०७८ ०४:०० बिहीबार

जुम्ला तिला गाउँपालिका जीवनबहादुर बुढा