समाज

कर्मचारीलाई कोरोना भएपछि राप्ती सोनारी गाउँपालिकाको सेवा बन्द

कोरोना संक्रमण फैलिएपछि बन्द रहेको बाँकेको राप्ती सोनारी गाउँपालिका। तस्बिरः नागरिक

कर्मचारीलाई कोरोना संक्रमण भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाले अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले कार्यालयका सम्पूर्ण कर्मचारीको एन्टिजेन परीक्षण गर्दा प्रायः कर्मचारीहरु संक्रमित देखिएको हुँदा कार्यालय बन्द गर्नु परेको बताएका छन्।  

प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार माघ १२ गतेदेखि १५ गतेसम्म अत्यावश्यक सेवा बाहेक गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ। गाउँपालिका र महालेखा परीक्षकको कार्यालयमा कार्यरत गरेर २४ जना कर्मचारीको कोभिड ‘एन्टिजेन’ परीक्षण गर्दा मंगलबार १२ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।  

गाउँपालिका स्वास्थ्य शाखाका सुरेश शर्माले दिएको जानकारी अनुसार कार्यालयको लेखा, योजना, प्राविधिक, महिला बालबालिका तथा जेष्ठ नागरिक लगायत विभिन्न शाखामा कार्यरत कर्मचारी तथा महालेखा परीक्षकको कार्यालयबाट खटिएर आएका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको हो। गाउँपालिकामा केही दिनदेखि महालेखा परीक्षकको कार्यालयबाट कर्मचारी खटिएर लेखा परीक्षण(अडिट) गरिरहेका थिए। मलेपका कर्मचारी नै संक्रमित भएपछि लेखा परीक्षण कार्य समेत स्थगित भएको गाउँपालिकाले जनाएको छ।  

कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्लाको नरैनापुर गाउँपालिका पनि केही दिनदेखि बन्द छ। जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबारदेखि पनि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको छ। कोरोना संक्रमण बढ्दै जाँदा जिल्लाका अधिकांस सरकारी कार्यालयले धमाधम आफ्नो सेवा बन्द गर्न थालेका छन्।

प्रकाशित: ११ माघ २०७८ १५:२७ मंगलबार