समाज

निस्सासिएर तीन महिने बालकको मृत्यु, आमाबुबाको अवस्था गम्भीर

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोट गाम्चामा निस्सासिएर आइतबार तीन महिने बालकको मृत्यु भएको छ। बालकका आमाबुबाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटना विवरण अनुसार गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा विगत दुई वर्षदेखि डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका घर भएका वर्ष ३० का अभिषेक रम्तेल, उनकी श्रीमती वर्ष २८ की पसुना र उनीहरुका तीन महिनाको छोरा शनिबार राति खाना खाएर आगो बालेर सुतेका थिए। आइतबार विहान अबेरसम्म पनि उनीहरु कोही नउठेपछि स्थानीय नागरिक र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा रहेका थिए। त्यसपछि उनीहरु तीनैजनालाई नजिकैको मध्यपुर अस्पताल लगिएकोमा उपचारको क्रममा छोराको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

आमाबुबा दुवैको उपचार सोही अस्पतालमा भइरहेको र अवस्था गम्भीर रहेको चिकित्सकले बताएको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।

प्रकाशित: ९ माघ २०७८ ०७:३३ आइतबार