समाज

लायन्सको प्रथम भ्वाइस डिस्ट्रिक्ट गभर्नरमा म्याग्दीका केसीको उम्मेदवारी

मानवीय सेवामा संलग्न विश्वकै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि आईको प्रथम भ्वाइस डिस्ट्रिक्ट गभर्नरका लागि म्याग्दीका चन्द्रकुमार केसीले उम्मेदवारी घोषणा गरेका छन्।

म्याग्दीका १० वटा लायन्स क्लबहरुको प्रस्तावमा सन् २००७ देखि लायन्स अभियानमा सक्रिय लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष केसीले क्लबको सन् २०२२/०२३ का लागि माघ २९ गते पोखरामा हुने दशौं महाधिवेशनमा प्रथम भ्वाइस गभर्नरमा उम्मेदवार बन्न लागेका हुन्।  

बेनीमा आयोजित कार्यक्रममा केसीले लायन्स क्लबमार्फत सामाजिक सेवाका गतिविधिलाई अघि बढाउन रामबहादुर बस्यालको नेतृत्वको प्यानलमा उम्मेदवार बनेको बताए। ‘लायन्सको यात्रामा धेरैलाई नेतृत्वमा पुग्न साथ दिइयो, आफूले देखेका केही सपना पूरा गर्न मैले उम्मेदवारी दिएको छु’, केसीले भने।

म्याग्दी जिल्लामा लायन्स अभियानको नेतृत्व गर्दै जोन, रिजन लगायत क्लबका विभिन्न जिम्मेवारीलाई सफलतापूर्वक भूमिका निर्वाह गर्न सफल भएका केसीले लायन्स क्लबको पढाउ अभियानको नेतृत्व समेत गरेका थिए। केसीले म्याग्दी जिल्लाबाट लायन्समा प्रतिनिधित्व गर्दै थप योजनाहरुमा जिल्लावासीसँग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए। ‘हामीले हरेक वर्ष एक करोडसम्मको योजना म्याग्दीमा ल्याउन सक्छौ, शिक्षा र स्वास्थ्यमा थप सहयोग आउँदैछ’, केसीले भने।

म्याग्दीमा क्रियाशील परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्षसमेत रहेका केसीले कलेजोको समस्याबाट ग्रसित एक बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश दान समेत गरेका थिए। फरक परिवारबाट कलेजो दान दिएर बालिकाको ज्यान जोगाएवापत नेपाल सरकार महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सम्मानित समेत भएका केसीले विपन्न बालबालिकाको शिक्षादीक्षामा समेत सहयोग गर्ने गरेका छन्।

केसीको अगुवाईमा म्याग्दीसहित धौलागिरी भित्रका जिल्लामा सामाजिक क्षेत्रमा धेरै काम भएको छ। उम्मेदवारी घोषणा लायन नारायण श्रेष्ठको अध्यक्षता र बिनय श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा लायन्स अभियान्ता सन्तोष रावलले म्याग्दी जिल्लामा लायन्सका अहिलेसम्मका ठूला अभियान उम्मेदवार केसीको नेतृत्वमा आएको बताए।  

उनले म्याग्दीले यसपालि क्लबको पदाधिकारीमा दाबीसहित उम्मेदवारी दर्ता गराउन लागेको बताए। लायन्स क्लब मार्फत किसानी प्राविधिक शिक्षालय बिम र गलेश्वर मावि तोरीपानीमा आठ/आठ कोठे र नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण भएको छ। बेनी अस्पतालमा स्वास्थ्य उपकरण सहयोग गरेको क्लबले पहिरोको विपद्को समयमा पनि जिन्सी तथा खाद्यान्न राहत सामग्री उपलब्ध गराएको थियो।

प्रकाशित: ८ माघ २०७८ ११:५८ शनिबार