समाज

पूर्वका शहरमा मोटरसाइकल चोरी नियन्त्रण मुख्य चुनौती

फाइल तस्बिर

एक साताअघि इटहरी वडा नं. १९ बाट स्कुटर चोरी गरेको आरोपमा प्रहरीले बिहीबार राति दुई जनालाई पक्राउ गरेको छ।  

प्रहरीले इटहरी वडा नं. १९ का मदिका राईको प्र १–०२–०४३ प ८६९९ नम्बरको स्कुटर चोरी गरेको आरोपमा इटहरी वडा नं. २० का जितबहादुर राई र सोही ठाउँका दिनेश दर्नाललाई प्रहरीले पक्राउ गरेको हो। दुवै जनालाई चोरीमा प्रहरीले मुद्दा चलाई सकेको छ ।

असोज २६ गते चेकजाँचका क्रममा प्र १–०२–४३ प १४८३ नम्बरको मोटरसाइकल चालक मोरङ बेलबारी वडा नं. ४ का २० वर्षे एन्जल गुरुङ र सोही ठाउँका मोटरसाइकलमा सवार सुनिल श्रेष्ठलाई चोरीकै आरोपमा इटहरीबाट प्रहरीले पक्राउ गरियो। बेलबारी मालपोत कार्यालय अगाडिबाट मोटरसाइकल चोरी भएको सूचना प्रहरीले पाएलगतै पक्राउ गरेको थियो।  

एकपछि अर्को चोरीको घटना हुने क्रममा एक साताअघि मोटरसाइकल चोरीकै आरोपमो इटहरी वडा नं. ४ स्थित डेरा गरी बस्ने पक्राउ परे। इटहरी वडा नंं. ६ का मानवहादुर तामाङ्को प्रदेश नं. १–०२–०४६ प ८७९० नम्बरको मोटरसाईकल चोरी गरेको आरोपमा वराहक्षेत्र वडा नंं. ५ घर भई इटहरीमै बस्ने २२ वर्षे मनिष वस्नेत र सङ्खुवासभा सभापोखरी वडा नं. ४ का २० वर्षेे सन्तोष सुनुवार पक्राउ परेका हुन्। प्रहरीले उनीहरुको कोठा खोजतलास गर्दा भने गाजा समेत फेला परेको थियो।

यसरी केही वर्षयता पूर्वका मुख्य शहरमा मोटरसाइकल हराउने क्रम निरन्तर बढ्दो छ। प्रहरीका लागि मोटरसाइकल चोरी नियन्त्रण गर्ने मुख्य चुनौती बनेको छ। पछिल्लो समय मोटरसाइकल चोरी गर्न संगठीत गिरोह सक्रिय रहेको प्रहरीले जनाएको  छ। २०७२ सालयता  इटहरीसहित सुनसरीका अन्य स्थानबाट मोटरसाइकल हराउने क्रम तिब्र भएको प्रहरीको रेकर्डमा उल्लेख छ।  

इलाका प्रहरी कार्यालय इटहरीले पछिल्लो समय मोटरसाइकल चोरी गर्ने गिरोहलाई विशेष निगरानी गरि धमाधम पक्राउ गर्न थालेको डिएसपी खगेन्द्र खड्काले बताए। उनका अनुसार पछिल्लो समय मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका बढी मात्रमा युवा रहेको र तिनीहरु लागूऔषधको कुलतमा फसेको पाइएको छ। ‘केही घटना सुनियोजित रुपमा पनि भएका छन, पछिल्ला धेरैजसो घटनामा लागूऔषधको लतमा फसेका युवाले चोरी गरेको पाइएको छ,’ उनले भने, ‘इटहरीमा प्रहरीले निगरानी बढाएसँगै कतिपय त्यस्ता व्यक्ति भने भित्री ग्रामीण क्षेत्रतिर पनि लागेको खुलेको छ।’  

जिल्ला प्रहरी कार्यालय सुनसरीको रेकर्ड अनुसार साउनयता पुस मसान्तसम्म ५७ वटा मोटरसाइकल चोरी भएका छन्। आर्थिक वर्ष २०७७–०७८ मा भने जिल्लाभर १५३ वटा मोटरसाइकल चोरी भएका थिए। पूर्वका शहर विशेषगरी सुनसरी, मोरङ र झापाबाट बढी मात्रमा मोटरसाइकल चोरी हुने गरेका छन्।  

प्रहरीको अनुसन्धान अनुसार पार्किङ गरेका होस् वा घर छेउछाउ ‘ह्यान्डिल लक’ नगरेका मोटरसाइकल चोरी गर्ने गरेको पाइएको छ। यसरी चोरी गरेका मोटरसाइकल नगन्य भारतमा लगेर बिक्री गरेपनि अरु भने पूर्वका पहाडी जिल्ला र ग्रामीण क्षेत्रमा लगेर बिक्री गर्ने गरेको खुलेको छ। मोटरसाइकल चोरी गर्नु पूर्व कै चोरीमा संलग्नले खरीद गर्ने व्यक्तिसँग मूल्य छिनोफानो गर्ने गरेको प्रहरीको दावी छ।  

मोटरसाइकल चोरी गर्नु पूर्व कै खरीद गर्ने व्यक्ति खोजी गर्ने गरेको र यदि व्यक्ति फिक्स नभएको अवस्थामा ग्यारेजमा लगेर पाटपूर्जासँगै अन्य स्वरुप परिवर्तन गर्ने गरेको समेत पाइएको छ।

प्रकाशित: ७ माघ २०७८ १४:२५ शुक्रबार