समाज

बस्ती छाड्दा राउटेहरुमा कोरोना जोखिम

कोरोना संक्रमण दर बढीरहेका बेला काठमाडौं पुगेका राउटे युवाहरु। तस्बिरः नागरिक

लोपोन्मुख राउटे समुदायका सदस्यहरुमा दुई वर्षयता कोरोना संक्रमण भएको छैन। कोरोना कहरको बेला बस्तीमै सुरक्षित बस्ने गरेका राउटेहरु यतिखेर सुर्खेतका विभिन्न बजार हुँदै काठमाडौंसम्म पुगेका छन्। देशमा कोरोना संक्रमण दर बढीरहेका बेला राउटेहरु बस्ती छाडेर सुर्खेत, सल्यान, दाङ्ग, काठमाडौंतिर खर्च जोहो गर्न हिँड्न थालेपछि कोरोना जोखिम बढेको हो।

विगतमा बाहिरी समाजदेखि टाढा हुने राउटेहरु अचेल गाउँ नजिक आएर बस्ने गरेका छन्। जसका कारण उनीहरु मदिराको लतदेखि अन्य नराम्रा कुराहरुमा बानी परेका छन्। उनीहरु खानपान पोषिलो नहुँदा स्वास्थ्यमा समेत असर परेको छ। यस्तो अवस्थामा राउटे समुदायभित्र कोरोना संक्रमण भए उनीहरुको अवस्था जटिल हुने विश्लेषण गरिएको छ।

हिजोआज राउटे यूवाहरु विर्खबहादुर शाही, कृष्णबहादुर शाही र गोविन्दबहादुर शाही काठमाडौंमा छन्। सुर्खेत आसपासका गाउँ तथा जिल्लाहरुमा आफूले उत्पादन गरेका काठका भाँडा लिएर बेच्न हिँड्ने गरेका हुन्। सल्लीबजारदेखि कोरोना फैलिरहेको र विरामी देखिरहेको भन्ने खवर कसैले नभनेकाले आफूहरु काठमाडौं आएको राउटे युवा विर्खेबहादुर शाहीले बताए। ‘सल्लीबजारदेखि १७ सयका दरले तिरेर काठमाडौं आयौं।’

राउटे युवा विर्खबहादुर शाहीले फोनमा भने, ‘हामी तिन जना आएका हौं। कसैले रोग फैलिएको थाहा भएन। अब पैसा सकियो अब कसरी बस्ती फर्कने अवस्था गाह्रो छ।’ बस्ती बाहिर राउटेलाई जान नदिन स्थानीय प्रशासनले विशेष पहल गर्नुपर्ने राउटे लोपोन्मुख सिमान्कृत वर्ग उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले बताईन्। ‘बस्ती छाडेर राउटेहरु बाहिर पुगेका छन्।’ खड्काले भनिन्, ‘स्थानीय प्रशासनले लोपाेन्मुख समुदायलाई कोरोना संक्रमण फैलन नदिन विशेष पहल गर्नुपर्छ।’

सिम्ता गाउँपालिकाको कालेखोलास्थित भेरी किनारमा राउटे समुदाय बस्दै आएका उनीहरु आसपास घुमिरहेका छन्। सल्यानको सल्लीबजार नजिकबाट सुर्खेत आएका हुन्। अहिले राउटे समुदायमा ४६ घरपरिवारमा १ सय ३८ जना राउटेहरुको संख्या रहेको छ।

स्थानीय प्रशासनले राउटे समुदायलाई कोरोना संक्रमणबाट जोगाउन कुनै प्रयास गरेको छैन। जसका कारण राउटेहरु बस्ती छाडेर विभिन्न जिल्लाहरुमा खर्च जोहो गर्नका लागि पुग्ने गरेका हुन्। अहिलेसम्म राउटेहरु बस्तीभित्र बसाल्नका लागि कुनै निर्णय नभएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।

प्रकाशित: ६ माघ २०७८ १४:१३ बिहीबार