समाज

बलिदानीपूर्ण मधेस आन्दोलनको १५ वर्षः साँघुरिदै मुद्दा

पहिलो सहिदका आमा रानोको रोदनः आँशु पुछ्ने कोहि भएन

पहिलो मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोका आमा रानो देवीको रोदन। तस्बिर: मिथिलेश/नागरिक

मधेस आन्दोलन भएको १५ वर्ष वितेको छ। २०६३ माघ ५ गते लाहानमा रमेश महतोको तत्कालीन माओवादीले चलाएको गोली लागेर मृत्यु भयो। बन्द राजमार्ग बलपूर्वक खुलाएर जान खोज्ने क्रममा माओवादी कार्यकर्ताले चलाएको गोली रमेशको छातीमा लागेर उनी त्यहीँ ढलेका थिए। त्यसपछि लहानको आन्दोलन मधेस विद्रोहको रुप धारण गर्दै मधेसभर फैलिएको थियो।

२०६३ साल माघ १ गते अन्तरिम संविधान घोषणा भयो। त्यसमा संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र, आत्मनिर्णयको अधिकार र स्वशासन एवम् प्रादेशिक स्वायत्तताको कुरा समावेश थिएन।  संविधान घोषणा भएको भोलिपल्टै माघ २ गते उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले काठमाडौंको माइतीघर मण्डलामा अन्तरिम संविधान जलाएर बिरोध जनाए। अन्तरिम संविधान जलाएपछि उपेन्द्र यादवलगायत २८ जनालाई प्रहरीले गिरफ्तार गर्यो। 

अन्तरिम संविधान जलाएको कसुर सरकारद्वारा उनीहरूमाथि सार्वजनिक मुद्दा चलाइएपछि फोरम नेपालले लहानसहित मधेसका जिल्लाहरूमा आन्दोलन थाल्यो। अध्यक्ष यादवलगायत अन्य नेताहरूको रिहाइको माग गर्दै फोरम नेपालले माघ ३ गतेदेखि ५ गतेसम्म मधेस बन्दको आह्वान गरेको थियो। सोही क्रममा लहानमा माओवादी कार्यकर्ता र फोरमवीच रोक्ने र अघि बढ्ने विषयमा विवाद हुँदा माओवादीबाट गोली चलाउँदा रमेश मारिएका थिए। 

रमेश फोरम नेपालका विद्यार्थी नेता थिए। महतोको हत्यापछि लहानमा दर्जनौ सवारी साधनमा आगो झोकिए। सरकारी कार्यालयहरुमा आगजनी गरिए। आन्दोलन चर्किदै माघ ८ गत्तेसम्म लहानमा मात्र पाँच जनाको सहादत भयो। र, आन्दोलनको मुस्लो मधेसभर फैलिसकेको थियो।

माघ ९ गत्ते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले आन्दोलनरत्त पक्ष मधेसी जनअधिकार फोरमलाई वार्ताका लागि आह्वान गरे। फोरमले तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको राजिनामा नआएसम्म वार्ता नबस्ने अडान लियो। माघ १७ गते तत्कालीन प्रधानमन्त्री कोइरालाले देशवासीको नाममा सम्बोधन गर्न बाध्य भए। जनसंख्याको आधारमा निर्वाचन क्षेत्र थपिने, नयाँ संविधानमा सबै जात, जाति, वर्ग र क्षेत्रका जनताको प्रतिनिधित्व हुने आश्वास्त पार्दै आन्दोलन फिर्ता लिन आग्रह गर्यो। तर, प्रधानमन्त्रीको सम्बोधनले मधेसको माग पूरा नभएको भन्दै आन्दोलन जारी रोकिएन।

माघ २४ गते प्रधानमन्त्री कोइरालाले देशबासीको नाममा सच्याएर पुनःअर्को सम्बोधन गरेपछि माघ २५ गते फोरम नेपालले १० दिनका लागि फोरमले आन्दोलन स्थगित गर्यो। त्यतिबेलासम्म मधेसमा ४२ जना मधेसी युवाको ज्यान गइसकेको थियो। यस अवधिमा सरकारबाट सकारात्मक पहल नभएको भन्दै पुनः आन्दोलन चर्किएको थियो। काँग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वको वार्ता समितिसँग जेठ १८ गतेदेखि विभिन्न चरणमा वार्ता भई २०६४ भदौ १३ गते सरकार र फोरम नेपालबीच २२ बुँदे सम्झौता भएको थियो।  

राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व गराउने, राज्य पुनर्संरचनासम्बन्धी आयोग गठन गर्ने, स्वायत्त मधेस प्रदेशको निर्माण गर्नेलगायतका बुँदामा सहमति भएको थियो। जेठ १८ गतेदेखि विभिन्न ६ चरणमा वार्ता भयो र अन्त्यमा २०६४ भदौ १३ गते सरकार र फोरम नेपालबीच २२ बुँदे सम्झौता भयो। ०६५ फागुन १६ मा सरकार र फोरमबीच अर्को ८ बुँदे सम्झौता भएको थियो। फोरनम नेतृत्वको बलिदानीपूर्ण आन्दोलनकै बलमा अन्तरिम संविधानमा संघीयतासहितको व्यवस्था सम्भव भएको थियो। 

त्यसपछि ०७२ को नाकाबन्दीसहितको तेस्रो मधेस आन्दोलन बिना उपलब्धि नै टुंगिएको थियो। कहिले जित, कहिले हार र कहिले सम्झौतामा टुंगिदै आएको मधेस आन्दोलन अझै लक्ष्य भन्दा निकै टाढा देखिन्छ। लक्ष्य भेटाउन नसकेर आन्दोलनको गोलचक्करमा फसेको मधेसको मुद्दा भन्ने साँघुरिँदै गएको छ। आन्दोलनबाट देशमा संघीयता र मधेसीले पहिचानसहितको संघीयता प्राप्त गरेको छ। मधेस प्रदेश पाएको छ। 

मधेसी चेहरा मुखिया भएको मधेस सरकार पाएको छ। अधिकांश सरकारी अडामा मधेसी चेहरा प्रशासक पाएका छन। मधेससहितका कल्सटरले आरक्षण पाएका छन। अझै धेरै उपलब्धि समयक्रमले थपिदै जाने जानकारहरु बताउँछन्। संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भन्छन्,‘मधेस आन्दोलनले धेरै उपलब्धिहरु प्राप्त भएका छन। धेरै प्राप्त गर्न बाँकी छ।’ राज्यको विभेदकारी व्यवहारका कारण मधेस सुगम भएपनि हरेक हिसावले पछाडि परेको छ। 

शिक्षा, स्वास्थ्य, रोजगार, विकास, कृषि, जलस्रोत लगायतका क्षेत्रमा राज्यको विभेदकारी नीति र व्यवहारले मधेस पछाडि परेको उनको भनाई छ। अब मधेसलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने अभियानमा सबैको हातेमालो हुनुपर्नेमा उनको जोड छ। अब मधेसी जनताको ‘समृद्ध मधेस’ को सपनालाई पूरा गर्ने बाटोमा अघि बढ्नुपर्ने उनको भनाई  छ।

ज्यूँका त्यूँ समस्या

बलिदानीपूण मधेस आन्दोलनको डेढ दशक वितिसक्दा राजनीतिक रुपमा मधेसमा धेरै परिवर्तण भैसक्यो। तर सामाजिक सवालहरु अझै सम्बोधनको पर्खाइमा छ। गरिबी, निरक्षरता, बेरोजगारी, युवाहरूको ठूलो जमात विदेश पलायन, महिलामाथि हिंसा, छुवाछूतजस्तो जघन्य अपराध, दहेजप्रथालगायतको बेथितिबाट मधेस र मधेसी अझै गाँजेकै अवस्था छ। शिक्षा, स्वास्थ्य र विकास–निर्माणलगायतका क्षेत्रमा खासै सुधार हुन सकेको छैन। मधेसी चेहरा मुखिया भएको प्रदेश चार वर्ष वित्दापनि अनेकौ बेथितिको सिकार छन्। चौतर्फी समस्या र पीडामा रहेको गुनासो उनीहरूबाट सुनिन्छ, उपचार कतैबाट नपाएको अवस्था छ।

प्रत्येक वर्ष माघ ५ गते लाहान पुगेर छोरा रमेशको प्रतिमामा माल्यार्पण गरी आँसुको भारी बिसाएर मन हल्का पार्दै आएकी छिन, रानोदेवी महतो। छोरा सम्झेर रानोदेवीले भनिन्, ‘अरुको त आर्थिक अवस्था राम्रो भयो, हाम्रो उस्तै छ, छोरो भएको भए पैसा कमाउने थियो, हाम्रो पनि राम्रो हुन्थ्यो होला। म जस्तै धेरै छोराका आमाहरु यसरी नै बेदनासहित रोइरहेका छौं, आँसु पुछ्ने कोही भएन।’

प्रकाशित: ५ माघ २०७८ ०५:३४ बुधबार