समाज

सर्लाहीमा बस दुर्घटना हुँदा १६ जना घाइते

मधेस प्रदेशको सर्लाही जिल्लासित पूर्व–पश्चिम राजमार्गमा मंगलबार दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। घाइते हुनेमा अधिकांश महिला रहेको सर्लाही प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको यात्रुबाहक बस आफैँ अनियन्त्रित भई हरिवन नगरपालिका ९ नोचामा पल्टिएको सर्लाही प्रहरीले जनाएको छ। बस पल्टिएपछि तुरुन्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरी अस्पताल पुर्‍याएको छ भने बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी गराएका छन्।  

बस दुर्घटनामा घाइते हुनेमा सुनसरी भन्टाबारी ९ का ४० वर्षीय अरुण महतो, महोत्तरी बर्दीबास २ बुद्धचोककी ३६ वर्षीया विमला सेन्चुरी, सर्लाही लालबन्दी ९ की ३७ वर्षीया सुधा खड्का, खड्काकै ४ वर्षीय छोरा कृष खड्का, सर्लाही हरिपुर २ का ६५ वर्षीय रामपुजन कुमर, कुमरकै ६५ वर्षीया श्रीमती रमनी कुमर, रौतहट चन्द्रपुर ८ की २५ वर्षीया नीलकुमारी राम, सर्लाही लालबन्दी ११ की ६० वर्षीया शीलादेवी ठाकुर, रौतहट राजपुर २ का ४० वर्षीय राजदेव भगत, भगतकै छोरा ११ वर्षीय रन्जनकुमार चौरसिया रहेका छन्।  

यसैगरी, महोत्तरीको बर्दीबास ११ की १९ वर्षीया पुष्पा गौतम, सर्लाहीको बागमती १० की १३ वर्षीया अस्मिता आचार्य, हरिपुर ५ की ४८ वर्षीया ठगनीदेवी चौधरी, वडा नम्बर ८ की ७० वर्षीया असियादेवी चौधरी, रौतहट गुजरा ३ का २४ वर्षीय सयफुरलाई देवा र सर्लाहीको लालबन्दी ९ का ३७ वर्षीया सुदीप खड्का पनि घाइते भएका छन्।

घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ। घाइते सबैको उपचार सर्लाहीमा भइरहेको छ। एकजनालाई थप उपचारको लागि वीरगंज रेफर गरिएको सर्लाही प्रहरीले जनाएको छ।

प्रकाशित: ४ माघ २०७८ १३:४३ मंगलबार