समाज

बौद्ध चैत्य जिर्णोद्धार गर्न पूजा

भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायकमा रहेको बौद्ध चैत्य जिर्णोद्धारको लागि सोमबार पूजा गरिएको छ। न्यास पूजा (जिर्णोद्धार पूजा) गरिसकेपछि मात्रै बौद्ध चैत्यको जिर्णाद्धार, मर्मतसम्भार गर्न सकिने जनाइएको छ।

भक्तपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाको आथित्यतामा कमलबिनायक मन्दिर परिसरमा एक समारोहबीच बौद्ध चैत्य अगाडि पूजा सम्पन्न गरिएको हो। न्यास पूजा धर्म गुरु भीमरत्न बज्राचार्य र प्राध्यापक पुष्परत्न शाक्यले संयुक्त रुपमा गरेका थिए।

नेपाल परम्परा बौद्ध संघका अध्यक्ष पुष्पराज शाक्यले विधि तन्त्रबाट स्थापित एैतिहासिक बौद्ध चैत्यहरु जिर्णोद्धारको लागि भत्काउन चार दिन अगाडि पूजापाठ सम्पन्न गर्नुपर्ने मान्यता रहेको बताए। बौद्ध सम्पदाहरु जिर्णोद्धार गर्नको लागि न्यास पूजा गरेर मात्र जिर्णोद्धार गर्नुपर्ने कुरा बौद्ध सम्पदाविज्ञहरुले बताए। उक्त बौद्ध चैत्य पहिला यातु चैत्य विहार रहेको अभिलेखहरु रहेको बताइएको छ।

उक्त बौद्ध चैत्य लगत इष्टिमेट नौ लाख एक हजार तीन सय २२ रुपैयाँं ५६ पैसा रहेको छ। जिर्णोद्धारको लागि अनुगमन समिति गठन गरेको थियो। वडा सदस्य जितेन्द्र मुनांकर्मीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिका सदस्यहरुमा तीर्थमान दुमरु, विकासराज बज्राचार्य, पद्मरत्न शाक्य, सुरेश ज्योति शाक्य रहेको छ। उक्त ऐतिहासिक बौद्ध चैत्य जिर्णोद्धार गर्न पुरातत्व विभागबाट आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ। भक्तपुर नगरपालिकासँगको सहकार्यमा निर्माण कार्य हुने जनाइएको छ।

प्रकाशित: ३ माघ २०७८ १२:५२ सोमबार