समाज

बेथानचोक नारायणस्थानमा जोखिम बढ्न थाल्यो

पर्यटकको आकर्षण बढ्दै गएको काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थान क्षेत्र पछिल्लो सयम असुरक्षित बन्दै गएको छ। नारायणस्थानसम्म पुग्ने गोरेटोसमेत जोखिमपूर्ण रहेको तथा नारायाणस्थान डाँडाको पूर्वतर्फको ठूलो चट्टानी भिरका कारण जोखिम बढ्न थालेको हो।

शनिबार बिहान नारायाणस्थान जाने क्रममा डाँडा नजिकै गोरेटोबाट चिप्लिएका पनौतीका एक बालकको मृत्यु भएको छ। जिल्लाको दक्षिणवर्ती क्षेत्र महाभारत पर्वत शृङ्खलाअन्तर्गत अवस्थित करिब तीन हजार मिटर उचाइमा रहेको पर्यटकीय उक्त बेथानचोक नारायणस्थान डाँडाबाट भिरमा खसेर करिब एक वर्षअघि पनि एक युवकको मृत्यु भएको थियो। मृतक दुवै पर्यटकीय क्षेत्रउन्मुख नारायाणस्थान घुम्न गएका आन्तरिक पर्यटक हुन्।

शुक्रबार आफन्तसँग बेथानचोक नारायणस्थान घुम्न गएका पनौती नगरपालिका–६ दलिनचोकका १२ वर्षीय सौरभ सापकोटाको शव शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। शनिबार बिहान ३ बजेदेखि हराइरहेका सापकोटाको खोजी गर्दा शव नारायणस्थानको डाँडाबाट करिब एक सय मिटर तल भेटिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

आफन्तका अनुसार, सौरभ हिउँमा चिप्लिएर बेपत्ता भएका थिए। सापकोटा हराएको खबर पाएपछि शनिबार बिहानदेखि प्रहरी तथा सदरमुकाम धुलिखेलस्थित कालीजङ्ग गणका सेनाको ‘माउन्टेन वारफेयर’ टोली खोजी कार्यमा परिचालन गरिएको थियो। स्थानीयवासीले पनि सापकोटाको खोजीमा निकै प्रयास गरेका थिए। ठूलो भिरमा खोजी गर्न निकै चुनौतीपूर्ण रहेकाले सुरक्षाकर्मी परिचालन गरिएको हो। ‘भिरमा खसेका बालक खोज्नु निकै चुनौतीपूर्ण थियो, सेनासहितको सुरक्षाकर्मीको टोलीले डोरीले बाँधेर उनको शव ल्याएको थियो’, खतिवडाले भने। उनका अनुसार, खोजी गर्ने क्रममा मृत भेटिएका सापकोटाको शव दिउँसो भिरबार निकालिएको हो।

बेथानचोक नारायणस्थान जिल्लाकै अग्लो स्थान हो। विशेषगरी हिउँदमा हिउँपर्ने भएकाले यो अवधिमा आन्तरिक एवं बाह्य पर्यटक आउने गर्दछन्। यहाँबाट महाभारतको पहाडी तथा हिमाली शृङ्खला र तराई क्षेत्रलाई नियाँल्न सकिन्छ भने सूर्योदयको राम्रो दृश्यावलोकन गर्न सकिन्छ। यहाँ महादेवको मन्दिर रहेकाले विशेष अवसरमा मेलासमेत लाग्ने गर्दछ। पछिल्लो वर्षदेखि कतिपय युवायुवतीहरु उक्त नारायणस्थान डाँडामै पाल टाँगेर बस्ने गर्न थालेका छन्। गत साल चैतमा पनि धुलिखेलका एक युवाको सोही भिरबाट खसेर मृत्यु भएको थियो।

प्रकाशित: २ माघ २०७८ ०२:३० आइतबार

पर्यटकको आकर्षण