समाज

अल्पसंख्यक राजी समुदायका बालबालिकालाई न्यायो कपडा

गौरीगंगा नगरपालिका–३, कुचैनी गाउँका अल्पसंख्यक राजी समुदायका बालबालिकालाई न्यायो कपडा वितरण गरिएको छ। चौमालाका समाजसेवी तथा कांग्रेस नेता दिनेशराज जोशीले राजी परिवारका ३९ जना बालबालिकालाई स्वीटर तथा ट्रयाकसुट वितरण गरेका हुन्।

माघे  संक्रान्तिको अवसर पारेर स्थानीय शिवगंगा नमूना आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत राजी समुदायका बालबालिकालाई कपडा वितरण गरिएको हो। शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बहादुरे नेपालीको रोहवरमा राजी समुदायका उपस्थित ३९ जना बालबालिकालाई स्वीटर तथा ट्रयाकसुट वितरण गरिएको थियो।

माघ महिना सुदूरपश्चिममा पवित्र महिनाका रुपमा लिइने र माघ महिनामा दान गरेमा पुण्य मिल्ने विश्वासका साथ आफूले पनि अल्पसंख्यक राजी समुदायका बालबालिकालाई न्यायो कपडा वितरण गरिएको समाजसेवी जोशीले बताए। उनले भने, ‘हाम्रो धार्मिक मान्यताअनुरुप माघ महिनालाई धर्मात्मी महिना भनिन्छ र यो महिनामा दान गरेमा पुण्य मिल्ने विश्वासका साथ विपन्न परिवार त्यसमा पनि अल्पसंख्यक जातिका रुपमा रहेका राजी समुदायका बालबालिकालाई न्यायो कपडा वितरण गरेको हुँ।’

केही दिनदेखि लगातार शीतलहरका साथै चिसो बढ्न गई विपन्न परिवारका बालबालिकालाई समस्या परेकाले उनीहरुलाई न्यायो बनाउन आफ्नोतर्फबाट सहयोग गरेको उनले बताए। ‘मेरो सानो सहयोगले न्यायो कपडा नभएका बालबालिकालाई यो जाडोमा न्यायो हुन्छ भने किन सहयोग नगर्ने भनेर ऊनीका कपडा तथा ट्रयाकसुट वितरण गरेको हुँ,’ उनले भने।

अति विपन्न त्यसमा पनि अल्पसंख्यक राजी समुदायका बालबालिकालाई न्यायो कपडा वितरण गरेर उनीहरुलाई न्यायो पार्न सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बहादुरे नेपालीले जोशीलाई धन्यबाद दिए। उनले भने, ‘राजी समुदायका बालबालिकालाई न्यायो कपडा दिएर चिसो मौसममा राहत पुगेको छ।’ उनले अति विपन्न तथा अल्पसंख्यक राजी समुदायका बालबालिकालाई वितरण गरिएको न्यायो कपडा कार्यक्रमलाई अन्य ठाउँमा पनि निरन्तरता दिन आग्रह गरे।

नेपालभरीमा कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, सुर्खेत र दाङ जिल्लामा मात्रै बसोबास गर्ने राजी समुदायको कूल जनसंख्या ४ हजार ४ सय ३६ जना रहेका छन्। राजी समुदायको मुख्य पेशा भनेको माछा मार्ने, डुङ्गा तार्ने र जंगली तथा भीर मौरीको मह काढ्ने र बेच्ने हो।

उनीहरु जंगल किनार नदी किनारमा पुस्तौदेखि बस्दै आएका छन्। राजी समुदायका बालबालिकालाई कैलालीको गौरीगंगामा गरिएको न्यायो कपडा वितरणले आफूहरुलाई खुसी लागेको बताउँदै राजी शाल्म समाज नेपालका केन्द्रीय अध्यक्ष चित्रबहादुर राजीले भने, ‘अल्पसंख्यक जातिका बालबालिकालाई यस्तो कठ्याङ्ग्रिदो चिसोमा न्यायो कपडा दिए गुन लगाउने जोशीलाई धन्यवाद।’

राजी समुदायका बालबालिकालाई चिसोका बेला सरकारले नहेरेका बेला मनकारी व्यक्तिले हेरिदिएको भन्दै उनले खुसी व्यक्त गरे।

प्रकाशित: १ माघ २०७८ १२:२९ शनिबार

राजी समुदाय