समाज

भेरी पुलबारे सडक डिभिजन 'गुपचुप'

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाबीचमा रहेको भेरी नदीमा बनाउन लागेको अलपत्र पुल। तस्बिरः गोविन्द/नागरिक

कर्णाली प्रदेश छिर्ने छोटो सडकका रुपमा रहेको बर्दिया–तेलपानी–सुर्खेत ५५ किलोमिटर सडक अन्तर्गत भेरी नदीमा बनाउन लागिएको पुल ९ वर्षदेखि अलपत्र छ। पप्पु मल्ल जेभी कन्स्ट्रक्सनले २०६९ असार २९ गते तीन वर्षभित्र पुल निर्माण गर्ने गरी सम्झौता समेत गर्‍यो। तर, पुल बनेन्। त्यही बेला बनाइएको तीन वटा पिल्लर काम बढ्दा अहिलेसम्म उस्तै छ।

पुलको ठेक्का सम्झौता गरेको सडक डिभिजन कार्यालय सुर्खेत न ठेक्का तोड्न सक्छ, न त बनाउनका लागि निर्माण कम्पनीलाई निर्देशन नै गर्छ। डिभिजन प्रमुखहरु फेरिरहन्छन् तर, पुलमा केही फेरिदैन। बराहतालका स्थानीयहरु वर्षेनि पुल बनाउन ज्ञापनपत्र सडक डिभिजन कार्यालयलाई दिइरहन्छन्। सडक डिभिजन कार्यालय गुपचुप रहिरहन्छ। जसका कारण ९ वर्ष पुलको कामले सिन्को समेत भाचेको छैन।

ठेकेदारले पुलको पिल्लर हाल्ने ठाउँमा चट्टान भएको निहुँ पार्दै सडक डिभिजन कार्यालयसँग डिजाईन परिवर्तन गर्नुपर्ने भन्दै पुलको काम रोकेको हो। डिभिजन कार्यालयले डिजाईन परिवर्तन नगरी यतिका वर्ष वितायो। १४ करोड २९ लाख ८९ हजारमा ठेक्कामा पुल निर्माणको सम्झौता गरिएको हो।

पप्पु मल्ल जेभी कन्स्ट्रक्सनलाई ७ दिने सूचना निकालेर किन सम्झौता रद्द नगर्ने भनेर चेतावनी दिइएको सडक डिभिजन कार्यालय सुर्खेतका ईन्जिनियर तुलाराम शर्माले बताए। ‘अन्तिम अवस्थामा ठेकेदारले काम गर्छ भनेको छ’, ईन्जिनियर तुलाराम शर्माले भने, ‘काम गर्छु भनेर विश्वस्त पारे कार्यालयले काम गराउनेछ।’ ठेकेदारले नयाँ डिजाईन स्वीकृती भए तत्काल काम गर्ने बताएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। सम्झौता रद्द गरेर नयाँ ठेक्का लगाउँदा अहिलेको अवस्थामा कार्यालयलाई ७ करोड बढी भार आउने आंकलन कार्यालयको रहेको छ।

पुलको डिजाईन फेल भएकाले नयाँ डिजाईन माग्दा कार्यालयबाट स्वीकृत नहुँदा नौ वर्षसम्म काम रोकिएको ठेकेदार कर्णबहादुर मल्लले बताए। ‘काम गर्दागर्दै चट्टान लाग्यो’, ठेकेदार मल्लले भने, ‘सडक डिभिजनलाई डिजाईन फेरबदल गर्नुभन्दा गरेनन्। मलाई यो पुलले ३ करोडभन्दा बढी क्षति गराउने भयो।’ तेलपानीमा सडक आयो तर, भेरीमा पुल नबन्दा जनताहरुले सास्ती खेप्नु परेको बराहताल गाउँपालिका–३ का वडा सदस्य अमृता वलीले बताइन्।

१ सय २० मिटर लामो पक्कि पुल भेरी नदीमा निर्माण भए, सुर्खेतबाट बर्दिया पुग्न ५२ किलोमिटर छोटो पर्छ। कर्णाली छिर्ने छोटो नाका समेत यही सडक हो। भुरिगाउँबाट बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बरपानीसम्म सवारी साधन चल्छन्। भुरिगाउँबाट तेलपानी २९ किलोमिटर रहेको छ। बर्दियाको बरपानीबाट सुर्खेतको तेलपानीसम्म झण्डै २४ सय मिटर सडक नयाँ ट्र्याक जोड्न बाँकी छ। सुर्खेतको रानीघाटदेखि डाँडाँपानीसम्म सडक फराकिलो बनाउन प्रदेश सरकारले ११ करोडमा तीन वर्षभित्र फराकिलो पार्ने गरि काम भईरहेको छ। सडक फराकिलो पार्ने सम्झौता यो चालु वर्षभित्र सकिदैछ। वीरेन्द्रनगरदेखि रानीघाट (भेरी नदी) १३ किलोमिटर र रानीघाटदेखि तेलपानी १६ किलोटिमर रहेको छ।

सडक डिभिजन कार्यालयले ठेकेदारसंग काम लिन नसक्दा यतिका वर्षसम्म तेलपानी जोड्ने सडक अन्तर्गत भेरी नदीको पुल नबनेको बराहताल गाउँपालिका–१ का वडाध्यक्ष तुलादेव भारतीले बताए। ‘बराहताल गाउँपालिकाका १ देखि ४ वडासम्मका स्थानीयहरुले पुल नबन्दा दुःख पाइरहेका छन्। वडाध्यक्ष भारतीले भने, ‘हामीलाई अरु थाहा छैन। सडक डिभिजनले डिजाईन फेरेर भएपनि पुल बनाउनुपर्छ।’

भेरी नदीबाट डोजर तारेर तेलपानीसम्म सडक खोलिएको हो। पुल कहिले बन्ला र भेरीमाथिबाट तेलपानी बर्दिया गाडी चलेको हेर्ने सपना जस्तो पो हुन थालेको बराहताल गाउँपालिका–१ का डाँडाँपानीका स्थानीय अगुवा पूर्णबहादुर सिजालीमगरले बताए।

‘पुलमा पिल्लर मात्र राखेको ९ वर्ष भयो’, सिजाली मगरले भने, ‘पिल्लर हालेदेखि न त्यो हेर्ने कार्यालयले हेरेको छ, न ठेकेदारले नै। पुल बन्न लाग्दा अब छिटो गाडी आउला भनेर खुसी थियौं तर, पुल नै बनेन्।’

प्रकाशित: १ माघ २०७८ ०८:२६ शनिबार

कर्णाली प्रदेश