समाज

सुदूर संस्कृतिमा मकर संक्रान्तिः माघमा चेलीलाई डोकाभरि परिकार

यस वर्षको माघे संक्रान्ति शनिबार परेको छ। मकर संक्रान्तिका नामले पनि चिनिने यस दिन सुदूरपश्चिममा आफ्ना छोरी–चेली, दिदी–बहिनीलाई सेलरोटी तथा पकाइएका अन्य खानेकुरा उपहार दिइन्छ। संक्रान्तिका दिन नभए माघको कुनै एक दिन यस्तो उपहार दिइन्छ। यो सुदूरपश्चिमाञ्चल संस्कृतिको विशेषता हो।

माघलाई पुण्य महिनाका रूपमा लिइन्छ। बिहे भएका छोरी, दिदी–बहिनी देवीका अवतार भएकाले उनीहरूलाई माघमा सेलरोटी तथा मीठा परिकार बनाएर दिएमा पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ।

छोरी, दिदी–बहिनी र फुपूलाई ‘त्यारमाणो’ (सेलरोटी, फाउने माडा, भुनेरोटीसँग मीठा परिकार) दिएमा पुण्य कमाइन्छ भन्ने विश्वासका आधारमा आफूले पनि यसपालिको माघमा सेलरोटी बनाएर पुर्‍याउने तरखर गरिरहेको धनगढी डोमलियाका लालबहादुर कलेलले बताए। उनले भने, ‘बिहे भएका छोरी, दिदी–बहिनी र फुपूलाई उपहारस्वरूप माघ महिनामा त्यारमाणो दिने गरिन्छ।’

माघ महिनामा सुदूरपश्चिमका पहाडी जिल्ला र तराईका कैलाली र कञ्चनपुरमा बस्ने पहाडीमूलका बासिन्दालाई बिहे भएका छोरी, दिदी–बहिनी, फुपूलाई सेलरोटी र अन्य परिकार बनाएर उपहारस्वरूप पठाउन भ्याइनभ्याइ हुन्छ। सुदूरपश्चिमेलीहरूले आफ्ना विवाहित दिदी–बहिनी तथा छोरीलाई माघमा मीठा परिकार बनाएर दिने गरेको र यो प्रचलनलाई त्यारमाणो भनिने डोटेली भाषाविद् डा. टिएन जोशी बताउँछन्।

विवाह गरी पठाइएकी चेली र माइतीको सम्बन्ध प्रगाढ बनाइराख्न पनि त्यारमाणो दिने प्रचलन पहिलेदेखि चलिआएको उनले बताए। उनले भने, ‘डोटी, डडेलधुरा, बझाङ, अछाम र बाजुरामा माघ महिनालाई चेली तिहार पनि भनिने गरिन्छ।’ माइती पक्षले छोरी, दिदी–बहिनीलाई मकर संक्रान्ति वा माघको कुनै दिन डोकाभरि त्यारमाणो दिन्छन्।

नजिक घर भएका दिदी–बहिनी र छोरीलाई भने माइती घरमै बोलाएर खुवाउने र गक्षेअनुसार दक्षिणा दिने गरिन्छ। टाढा घर भएका छोरी, दिदी–बहिनीलाई उनीहरूकै घरमै गएर त्यारमाणो दिइन्छ।

माघे संक्रान्तिदेखि मसान्तसम्म सूर्य मकर राशिमा रहने भएकाले यो महिनालाई माघे तिहारका रूपमा मनाउने गरिएको ज्योतिषी मनिराज जोशी बताउँछन्। उनले भने, ‘मकर राशिमा गरेको कार्य बढी फलदायी हुन्छ।’ माघमा ब्राह्मणलाई खाना खुवाए पुण्य पाइने धार्मिक मान्यता पनि छ।

उनका अनुसार दिदी–बहिनी र छोरीलाई ब्राह्मणको प्रतीक मानिएकाले सेलरोटी तथा विभिन्न खानका परिकार उपहार दिने गरिएको हो। धार्मिक मान्यताअनुसार माछा, मासु खानु हुँदैन। माघमा स्वस्थानी व्रत हुने भएकाले पशुपन्छीको हिंसा गर्नु हुँदैन भन्ने धार्मिक मान्यता पनि छ।

किम्बदन्तीअनुसार कुनै बेला एक विवाहित चेलीले आफ्ना बुबालाई आरु फुल्ने र पाक्ने बेला (आरु फुल्ने समय माघ हो भने पाक्ने समय साउन) मा खानेकुरा अभाव भएकाले घरमा नआउन अनुरोध गरेकी थिइन्।

त्यही बेलादेखि चेलीका घरमा खानेकुराको अभाव टार्न सेलरोटी दिने प्रचलन सुरु भएको भन्ने मान्यता रहेको टेकराज अवस्थी बताउँछन्। उनले भने, ‘पहिले–पहिले केरा तथा मालुको पातमा सेलरोटी राखेर दिने गरिन्थ्यो, पछि डोकोभरि सेलरोटी र अन्य परिकार दिन थालिएको हो।’ यसरी डोकोभरि सेलरोटी लगेर आमा, भाउजू, दाजु वा भाइ छोरी, दिदीबहिनीको घरमा जान्छन्।

यो समयमा न्याउली चरी बास्ने भएकाले बिहे भएका छोरी, दिदी–बहिनीलाई माइतीको सम्झनाले सताउँछ। माइतीको सम्झना बिर्साउन पनि माघमा त्यारमाणो दिने गरिएको डेउडा गायक सुरत रावत (डोटेली कान्छा) बताउँछन्। उनले भने, ‘छोरी, दिदी–बहिनीलाई माइतीको सम्झनाले नसताओस् भनेर त्यारमाणो उपहार पठाउने गरिन्छ।’

छोरी–चेलीलाई भगवान्को रूप मान्ने गरिएकाले उनीहरूलाई मान दिनु पनि यसको अर्थ रहेको उनी बताउँछन्।

त्यारमाणो माइतीले छोरी–चेलीलाई दिएको सम्मान भएको बताउँदै रावतले भने, ‘माइती र चेलीको सम्बन्ध त्यारमाणोले झन् प्रगाढ बनाउँछ। कामधन्दामै माइती बिर्सिएकी चेलीलाई त्यारमाणोले सम्झना दिलाउने र माइती पक्षसँग भेटघाट गराउने अवसर जुटाएको उनले बताए। परम्परादेखि चलिआएको संस्कृतिअनुसार माघलाई धार्मिक महिनाका रूपमा लिइन्छ।

यस महिनामा चेलीलाई गक्षेअनुसार दान गर्दा पुण्य कमाइने विश्वास रहेको उनी बताउँछन्। सुदूरपश्चिममा माघ महिनामा चेलीलाई त्यारमाणो दिने र ब्राह्मणलाई खिचडी खुवाउने प्रचलन छ। खिचडीले शरीरलाई तागत र तातो दिने भएकाले ब्राह्मणलाई खुवाए पुण्य पाइने जनविश्वास छ। माघमा जाडो बिस्तारै हट्ने र कामकाजको समय नभएकाले चेलीलाई कोसेली दिने उपयुक्त समय भएको उनले बताए।

पण्डित हरिनारायण भट्ट पनि माघमा छोरी, दिदी–बहिनीलाई त्यारमाणो दिए धर्म लाग्ने र पाप नष्ट हुने जनविश्वास रहेको बताउँछन्। दसैं, तिहारपछि मकर संक्रान्ति चेलीलाई माइतीसँग भेटघाट गर्ने अवसर भएको उनी बताउँछन्।

माघमा चेली, दिदी–बहिनीलाई दान दिएमा हजारौं गुणा फल मिल्ने जनविश्वास रहेकाले पनि त्यारमाणो दिने चलन रहेको उनले बताए। उनले भने, ‘यो क्षेत्रमा माघ महिनामा माइती पक्षले छोरी, दिदी–बहिनीको घरमा गएर पानीसमेत नखाने चलन छ। आफूले दिने तर छोरी, दिदी–बहिनीको घरको केही नखाने चलन छ,’ उनले भने।

डोटी, डडेलधुरा, बझाङ, अछाम र बाजुरामा माघमा त्यारमाणो दिने चलन रहे पनि दार्चुला र बैतडीमा भने चैत महिनामा भिटौलो/चैतेलो भन्दै सेलरोटी दिने चलन रहेको सुदूरपश्चिमको संस्कृतिमा विद्यावारिधि गरेका बद्री बिनाडी बताउँछन्। उनले भने, ‘सुदूरपश्चिममा चेलीलाई देउताका रूपमा मान्ने र दान दिए पुण्य कमाइने विश्वास रही आएको छ।’

प्रकाशित: १ माघ २०७८ ००:२६ शनिबार

सुदूर संस्कृति मकर संक्रान्ति