समाज

मादी गाउँपालिकाले भन्योः एक्याप हटाएर हामीलाई अधिकार देउ

मादी गाउँपालिकाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हटाउन माग गरेको छ। मादी गाउँपालिकाको दशौं गाउँसभाले एक्याप हटाउन संघ सरकारसँग माग गरेको हो। साथै उसले एक्यापको अधिकार क्षेत्र भित्र रहेका प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन आफूलाई दिन माग गरेको छ।

मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङले गाउँसभाले एक्याप हटाउन र एक्यापको अधिकार क्षेत्र भित्र रहेका प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनको जिम्मा गाउँपालिकालाई दिन संघ सरकारसँग माग गर्ने प्रस्ताव पारित गरेको जानकारी दिए।

त्यस्तै, एक्यापको अधिकार क्षेत्र भित्र रहेको सम्पूर्ण श्रोत, साधन र अधिकार गाउँपालिकाको नाममा नआएसम्म एक्यापको नाममा संकलन भएको रोयल्टी र पर्यटन शुल्कको ७० प्रतिशत अंश गाउँपालिकामा आउने व्यवस्था गर्नपनि गाउँपालिकाले माग गरेको छ। त्यसका लागि संघ सरकारलाई आग्रह गर्ने प्रस्ताव पारित भएको प्रमुख गुरुङले बताए।

गाउँसभाले मादी गाउँपालिकाको वन क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७८, मादी गाउँपालिकाको बालबालिकाको अधिकार संरक्षण संवद्र्धन तथा प्रर्वद्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८, मादी गाउँपालिकाको स्थानीय भूमि सम्बन्धी विधेयक, २०७८, मादी गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८, मादी गाउँपालिका कर्मचारी सेवा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७८समेत गरी पाँचवटा विधेयक पारित दुईबटा संशोधन विधेयक पारित गरेको छ।

गाउँसभाको अवसरमा मादी गाउँपालिकाको लोक संस्कृति नामक पुस्तक विमोचन गरेको छ । पुस्तकको मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङ (श्याम)ले विमोचन गरेका थिए।  गाउँसभाको अवसरमा गाउँपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटन समेत गरिएको छ भने मादी गाउँपालिकाको आफ्नै गानपनि विमोचन गरिएको छ।

प्रकाशित: ३० पुस २०७८ १०:१२ शुक्रबार

मादी गाउँपालिका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)