समाज

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

फाइल तस्बिर

ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ। समुन्द्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा रहेको फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँ लगायत क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ।

गए राति बाक्लो हिमपात भएको थियो। घुन्साका केल्साङ शेर्पाका अनुसार चिसोले बाहिर निस्कन समस्या भएको छ। चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित छन्। घुन्साका टासीतेन्जी शेर्पाका अनुसार हिमपातका कारण पशुचौपाया बचाउन मुस्किल भएको छ।

यस्तै समुन्द्र सतहदेखि तीन हजार २०० मिटरमा रहेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा पनि बाक्लो हिमपात भएको स्थानीयवासी तेन्जी शेर्पाले बताए।

भले, ग्याप्ला तथा मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङमा समेत हिमपात भएको मिक्वाखोला–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताए। समुन्द्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ। यस वर्ष जिल्लामा पुस १३ र १४ गते पहिलोपटक हिमपात भएको थियो।  

प्रकाशित: २९ पुस २०७८ ०६:५६ बिहीबार

जनजीवन प्रभावित ताप्लेजुङमा हिमपात पहिलोपटक हिमपात