समाज

बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्च प्रदान

बाघको आक्रमणबाट ज्यान गुमाएका लिला बिष्ट र चाँदनी थारुको परिवारलाई राप्ती सोनारी गाउँपालिकाले किरिया खर्च उपलब्ध गराएको छ। बाघले शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीबार राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री सोमबार मृतकको घरमै पुगेर किरिया खर्च वापत २५ हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरेका हुन्। गाउँपालिकाभित्र जुनसुकै घटनाबाट ज्यान गुमाउनेका परिवारलाई राप्ती सोनारीले किरिया खर्च वापत २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

बाघको आक्रमणबाट ज्यान गुमाएका दुई जना महिलाका परिवारलाई २५/२५ हजार रुपैयाँ हस्तान्तरण गरिएको अध्यक्ष थारुले बताए।  

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेल, बाँके राष्ट्रिय निकुञ्जका कर्मचारीलगायत दुबै पीडितको घरमा सान्त्वना दिन पुगेका थिए।  

पीडित परिवारलाई सान्त्वना दिदै डिभिजन वन कार्यालय बाँकेका प्रमुख कँडेलले प्रदेश सरकार र संघीय सरकारबाट नियम अनुसार दिइने क्षतिपूर्ति उपलब्ध गराइने आश्वासन दिएका थिए।

बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र ४ जनाको ज्यान गइसकेको छ। यसअघि राप्ती सोनारी १ गाभर र नरैनापुरमा एक/एक जनाको मृत्यु भएको थियो। बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दा निकै त्रसित बनेका छन्।

मान्छे खाने बाघ नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका बाँके आइपुगेको छ। डिभिजन वन कार्यालय बाँकेका प्रमुख कँडेलले ३ जनाको प्राविधिक टोली आइपुगेको जानकारी दिए।  

प्रकाशित: २६ पुस २०७८ १४:०६ सोमबार

मान्छे खाने बाघ