समाज

पृथ्वीजयन्तीको दिन गोरखाका पाँच स्थानीय तहमा बिदा

पृथ्वी जयन्तीको अवसरमा गोरखाका पाँच स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। राष्ट्रनिर्माता तथा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको तीन सय औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, भिमसेन थापा गाउँपालिका र अजिरकोट गाउँपालिकाले बिदा दिएका हुन्।

सार्वजनीक सूचना निकाली पालिकाहरुले भब्यरुपमा पृथ्वीजयन्ती मनाउन बिदासहित विभिन्न कार्यक्रमको पनि तयारी गरेका छन्। ‘हामीले यसअघि पनि बिदा दिँदै आएका थियौँ’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने ‘गोरखाको लागि यो एउटा ऐतिहासिक दिन हो।’

पृथ्वी जयन्तीको अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको र मंगलबार गोरखा संग्रहालयमा वृहत कार्यक्रम हुने उनले बताए। नेपाल एकीकरणमा सिरानचोक कोट, गोरखा दरबार र पृथ्वी नारायण शाहको सुमधुर सम्बन्ध देखिएकोले सम्झना स्वरुप एकीकरणका महानायक पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा बिदा घोषणा गरिएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए।  

अन्य पालिकाहरुमा पनि बिविध कार्यक्रम आयोजना गरी पृथ्वी जयन्तीलाई  भव्यताका साथ मनाउने जनाएको छ। सार्वजनिक बिदा दिइएका पालिका मातहत रहेको सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयहरु बन्द हुनेछ।

प्रकाशित: २६ पुस २०७८ १०:११ सोमबार

पृथ्वी जयन्ती