समाज

टाठाबाठाकै कारण वैज्ञानिक वन बदनाम: मन्त्री धामी

वैज्ञानिक वन व्यवस्थापन व्यवहारिक हुन नसक्दा केही टाठाबाठाले हालीमुहाली गर्दा नै बद्नाम भएको सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बताएका छन्। आइतबार वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री धामीले केही टाठाबाठाहरुले मिल खोल्ने र आन्तरिक खपतका नाममा आर्थिक हिनामिना गरेकै कारण वैज्ञानिक वन बद्नाम भएको बताएका हुन्। वैज्ञानिक वन आफैमा नराम्रो नभएको उनले बताए। उनले भने, ‘वैज्ञानिक वन नराम्रो हैन, यसको कार्यान्वयन पक्ष फितलो भएकै कारण वद्नाम भएको हो।’  

‘वैज्ञानिक वन व्यवस्थापनमा तमामौ समस्या आउनुको मुख्य कारण केही व्यक्ति र केही सीमित संस्थाको गलत मनसायकै कारण भएको हो,’ उनले भने, ‘व्यक्तिगत स्वार्थका कारण नै बद्नाम भएको हो।’  

संघीय सरकारले वनलाई पूर्ण अधिकार नदिएको बताउँदै मन्त्री धामीले भने, ‘वन नियमावलीले प्रदेशले चिनेको छैन, सिंहदरबारभित्र बसेका केही व्यक्तिको निहीत स्वार्थका कारण स्थानीय र प्रदेश सरकारले अधिकार पाउन सकेका छैनन्।’ पछिल्लो समयमा वैज्ञानिक वन व्यवस्थापनका नाममा संघीय सरकारले सामुदायिक वनको अधिकार कटौती गरेको पनि उनले आरोप लगाए। विगत आठ वर्षदेखि वनमा काठ दाउरा कुहिरहेको बताउँदै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव देवेश त्रिपाठीले भने, ‘सही तरिकाले नेपालको वैज्ञानिक वन व्यवस्थापन भएमा करोडौंको राजश्व उठ्नुका साथै अन्य देशबाट नेपालमा खपत गराउनु पर्ने काठ यहीँ उपलब्ध हुनेछ।’ नेपालमा प्रशस्त मात्रामा रहेको काठलाई यहाँ अंकुस लगाएर विदेशी काठ आयात गराउन नै विदेशीहरुले चलखेल गरेरै वैज्ञानिक वन व्यवस्थापनलाई बद्नाम गरेको उनको भनाइ थियो।

चक्रिय प्रणालीमा वन व्यवस्थापन गर्दा वनको स्थिति सुध्रिएको सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य महेशदत्त जोशीले बताए। उनले भने, ‘वन व्यवस्थापनका लागि गुरुयोजना बनाएर कार्यान्वयन गर्नुपर्छ।’ अहिले सामुदायिक वनका लागि नीति नियम मात्रै नभई वनको रेखदेख गर्ने र दक्ष जनशक्तिको आवश्यकता भएको उनले बताए।

प्रकाशित: २५ पुस २०७८ १३:१२ आइतबार

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल संघीय सरकार