समाज

राप्तीपारी जंगलमा दिनहुँ बाघ आतंक, आक्रमणबाट जोगिए बमबहादुर

बाघले शुक्रबार मारेको राप्तीसोनारी–५ निवासी बमबहादुर पुनको बाख्रा। तस्बिर सौजन्यः हेमन्त चौधरी

जंगलमा बाख्रा चराउन गएका बाँके राप्तीसोनारी–५ का बमबहादुर पुन शुक्रबार पाटेबाघको आक्रमणबाट जोगिन सफल भएका छन्। बाख्रा चराउन उनी स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र गएका थिए। झाडीमा लुकेर बसेको बाघले आक्रमण गर्ने प्रयास गरेपनि उनी जोगिएका हुन्।  

‘बाख्रा चराइरहेको अवस्थामा बाघले एक्कासी झम्टियो, मैले उसलाई छलेर लुकेँ, बाघको आक्रमणबाट म जोगिएँ, तर बाख्रालाई बचाउन सकिएन,’ उनले भने। शुक्रबार दिउँसो करिव ३ बजेतिर बाघले आफूलाई झम्टिने प्रयास गरेपनि बाँच्न सफल भएको पुनले बताए। प्रहरीका अनुसार बाघले पुनको एउटा बाख्रालाई मारेको छ। यस्तै तीन वटा बाख्रालाई घाइते बनाएको र तीन वटा बाख्रो फेला नपरेको ईलाका प्रहरी कार्यालय बैजापुर धामपुरका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले बताए। ‘धन्न बाघलाई छलेर उहाँ बाँच्न सफल हुनु भएको छ, नत्र आज पनि अर्को घटना निम्तिने रहेछ,’ उनले नागरिकसँग टेलिफोनमा भने। बाघले दिनहुँ आतंक मच्चाइरहेको सिग्देलले सुनाए।  

बाघले आक्रमण गर्दा बिहीबार मात्र राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो। जंगलमा घाँस दाउरा काट्न गएको बेलामा उनलाई बाघले मारेको हो। स्थानीय जलहन सामुदायिक वनको ‘तीनपाने’ भन्ने स्थानमा लिलासहित ५५ वर्षीया चन्द्रकला मल्ल, ५५ वर्षकै हुकुमी बस्नेत घाँस दाउरा काट्नका लागि बिहीबार बिहान १० बजेतिर जंगल गएका थिए।

घाँस दाउरा काट्दै गर्दा बाघले एक्कासी लिलालाई समातेर लगेपछि अन्य दुई जना महिलाले फोन गरेर गाउँमा खबर गरे। बाघले लिलालाई घिसार्दै घटनास्थलबाट करिव २० मिटर पर लगेर खाँदै गरेको अवस्थामा प्रहरी र स्थानीयले फेला पारेका हुन्। प्रहरी र स्थानीय बासिन्दा पुगेपछि पनि बाघले घटनास्थल छाडेको थिएन।  

त्यसपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेर मृतकको शवलाई नियन्त्रणमा लिएको थियो। यसअघि बुधबार जंगलमा पात टिप्न गएको अवस्थामा राप्ती सोनारी ४ बैजापुरकै ३० वर्षकी दुर्गा थारुलाई पनि आक्रमण गरेको थियो। तर, प्रतिकार गरेर उनी बाँच्न सफल भएकी थिइन्। बाँकेमा तीन महिनाको अवधिमा बाघको आक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ।

जिल्लाको राप्तीपारीको जंगलमा दिनहुँ पाटेबाघले आतंक मच्चाइरहेको स्थानीय बासिन्दा बताउँछन्। गाउँ नजिकैको जंगलमा पाटेबाघको विगविगी बढेपछि स्थानीयलाई जंगल नजान अनुरोध गरिएको राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन्। ‘हामीले बाघको आतंक बढेका कारण जंगल नजान स्थानीय बासिन्दालाई भनेका छौं, स्थानीय एफ.एम. रेडियोमार्फत सूचना प्रशारण गरेका छौं,’ उनले भने।  

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले राप्तीपारी बाघ दिनहुँ देखा पर्न थालेपछि जंगलमा घाँस, दाउरा र गोठालो नजान सबैलाई आग्रह गरिएको बताए। उनले भने, ‘हामीले पनि सार्वजनिक सूचना जारी गरेर सबैलाई जंगलभित्र नजान आग्रह गरेका छौं।’ बाघले दिनहुँ आतंक मच्चाउन थालेपछि बाँके राष्ट्रिय निकुञ्जले दुई वटा घरपालुवा हात्ती शुक्रबार बेलुकी राप्तीपारी क्षेत्रमा लगेको छ। त्यहाँ केही दिनसम्म हात्तीलाई राखेर बाघको निगरानी बढाउने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ।

प्रकाशित: २३ पुस २०७८ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App