समाज

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा तिवारीको 'तीर'

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा हालका उपमहानिर्देशक प्रतापबाबु तिवारी अब्बल देखिएका छन्।      

अहिलेका महानिर्देशक राजकुमार क्षेत्रीको पदावधि सकिन लाग्दा र नयाँ महानिर्देशक ‘को’ बन्ने चर्चा चलिरहँदा प्राधिकरणलाई सही नेतृत्व प्रदान गर्ने तिवारी नै उपयुक्त रहेको बुझिएको छ।

अहिलेका महानिर्देशक क्षेत्री उमेरहदका कारण भोलि पुस २४ गते अनिवार्य अवकाश हुँदैछन्। भोलि अवकास हुने भएपछि आजै उनले राजीनामा समेत बुझाउँदैछन्। उनको राजीनामापछि वरिष्ठताका आधारमा हाल नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठान प्रमुखका रुपमा कार्यरत प्राधिकरणका उपमहानिर्देशक तिवारी र अर्का उपमहानिर्देशक भोलाप्रसाद गुरागाईं निमित्त महानिर्देशकको दौडमा रहेका छन्।  

ति दुईमध्ये जो निमित्त महानिर्देशक भएपनि पछि उनीहरु मध्येबाट एक जना नै महानिर्देशक बन्ने छन्। गुरागाईं प्राधिकरणको उपमहानिर्देशक पदमा रहेका छन्।  

एकै समयमा प्राधिकरणको ११ औँ र १२ औँ तहमा संगै बढुवा भएपनि कार्यक्षमताका आधारमा गुरागाईंभन्दा तिवारी नै प्राधिकरण बुझेको र चलाउन सक्ने क्षमतावान कर्मचारी हुन्।

उपमहानिर्देशक गुरागाईंको यहि फागुन १६ गते उमेरहदका कारण सेवाबाट अवकास हुँदैछन्। त्यसैले उनलाई छोटो समयका लागि महानिर्देशक बनाउनुभन्दा लामो समय प्राधिकरणमा रहने तिवारी नै महानिर्देशक बनाउनु पनि संस्थाका लागि हित हुन्छ। तिवारी प्राधिकरणमा अझै चार वर्ष बस्ने छन्। गुरागाईं प्राधिकरणको नेतृत्वमा आए ४७ दिनमात्र प्राधिकरणको महानिर्देशक पदमा रहने छन् भने तिवारी पूरा कार्यकाल चार वर्ष प्राधिकरणको नेतृत्व रही प्राधिकरणमा सुधारको पक्षमा काम गर्ने अवसर प्राप्त गर्ने छन्। त्यसैले पनि तिवारी नै प्राधिकरणको एकल दावेदारका रुपमा रहेका छन्।

उपमहानिर्देशक तिवारी एअर ट्राफिकको कन्ट्रोलर अफिसरको रुपमा सेवा प्रवेश गरी नागरिक उड्डयनमा काम गरेको २५ वर्षको अनुभव समेत रहेको छ।

विमानस्थल सञ्चालन र उडान सुरक्षासम्बन्धी विधामा विभिन्न अन्तर्राष्ट्रिय तालिम र यस क्षेत्रको कार्य अनुभव समेत प्राप्त गरेका तिवारी नै प्रधानमन्त्री, पर्यटनमन्त्री र मुख्यसचिवको रोजाईमा रहेका छन्।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धकको रूपमा नौ महिना तथा पोखरा र नेपालगंज क्षेत्रीय विमानस्थलको प्रमुख रुपमा काम गरिसकेको उनको अनुभव छ।  

कर्णालीमा चार्टर उडान रोकी नियमित

नेपालगंज विमानस्थलमा प्रमुख रहँदा तिवारीले कर्णाली जनतामा हुने चार्टर उडानलाई रोकी नियमित उडानको व्यवस्था गरेका थिए। चार्टर उडानमा निकै महंगोमा कर्णालीका नागरिकले यात्रा गर्नुपरेको थियो। 'कर्णालीका मानिसहरु चार्टर उडानमा निकै नै खर्च गर्नुपर्दथ्यो', उनले भने, 'मैले त्यो चार्टर उडानलाई रोकी नियमित उडान गरे र त्यसबाट कर्णालीका जनतालाई ठूलो राहत मिलेको छ।' 

नेपालगंजमा रहँदा उनको कामको योगदान कदर गर्दै सरकारले नै सुप्रबल जनसेवा श्री पदक–२०७६ प्रदान गरेको थियो।  

यस्तै पोखरा हुँदा पोखरा विमानस्थलको सुधारको काम समेत उनले गरेका थिए।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहँदा विमानस्थलको सुधार गर्नुको साथै कोरोनाको समयमा स्वास्थ्य सामग्री र विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल ल्याउने समेत काम गरेका थिए।

'कोरोनाको बेला अन्तर्राष्ट्रिय उडान चुनौतीपूर्ण रहेको थियो', उनले भने, 'त्यस्तो समयमा पनि सहज रुपमा उडान गरेर स्वास्थ्य सामग्री र विदेशमा अलपत्र परेका नेपाली ल्याउने काम गरेँ।'

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका बेला उनले नै बुटिक एयरपोर्टको अवधारणा ल्याएका हुन्। उनकै अवधारणा अनुसार विमानस्थललाई ‘बुटिक’ बनाउने काम भएको छ।

यस्तै विमानस्थलको क्षमता विस्तारका लागि योजना ल्याएपनि कार्यान्वयन गर्ने बेला सरुवा भएपछि उनले काम गर्न पाएनन्।

'आन्तरिक पार्किङको विस्तार, आन्तरिक टर्मिनलको विस्तार, छुटै आगमन हल, टर्मिनलको चेकिङ र लगेज क्षेत्र विस्तार गर्ने जस्ता विमानस्थललाई सुधार गर्ने योजना मैले नै ल्याएको हुँ', उनले भने, 'तर कार्यान्वयन गर्ने बेलामा मेरो सरुवा भएता पनि मलाई खुशी के छ भने मेरो कार्ययोजनाले विमानस्थल सुधार भएको छ।'

निजगढलाई हब विमानस्थल

तिवारी आफू महानिर्देशक भएपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकतामा राखेर काम गर्ने र दक्षिण एसियाको ‘अन्तर्राष्ट्रिय हब विमानस्थल’को रुपमा समेत विकास गर्ने उनको योजना रहेको छ।  

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तीन महिना र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी रहेको छ।  

'गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिव्रेशनको काम फेब्रुअरीबाट शुरु हुन्छ', उनले भने, 'त्यो काम सकिएपछि तीन महिनापछि सञ्चालनमा ल्याउँछौं।' उनीसंग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तयारी कार्य दलको अध्यक्ष समेत रही कार्य गरेको अनुभव रहेको छ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम विस्तार गरी पूर्ण क्षमतामा संचालनमा ल्याउने र साँघुरो टर्मिनललाई पनि क्षमता विस्तार र गुरुयोजना अनुसार नयाँ टर्मिनल बनाउने समेत योजना रहेको सुनाए।

हवाई सुरक्षाको स्तरवृद्धि गर्ने

उनले युरोपियन युनियनको कालोसूचीबाट नेपाललाई हटाउन पहल गर्ने बताए। तिवारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को हवाई सुरक्षा मापदण्ड अनुसार नै नेपालको हवाई अडिटमा सुधार गर्ने समेत बताए।

'आइकाओ अडिट आगामी चैतमा हुँदैछ। अब आउने अडिटमा हामीले पहिलेको भन्दा हवाई सुरक्षा अझ राम्रो बनाउनु पर्दछ', उनले भने, 'यसपटक आइकाओको अडिटमा हवाई सुरक्षाको स्तरवृद्धिमा सुधार गर्दै नेपाललाई युरोपियन युनियनको कालोसूचीबाट हटाउँछौ।'

आगामी चैतमा आइकाओले नेपालको हवाईसुरक्षा अडिट गर्दै छ।  

प्राधिकरण सुधार्ने यस्तो योजना

यस्तै आफू महानिर्देशकमा नियुक्त भएपछि प्राधिकरण आयवृद्धिमा जोड दिँदै कर्मचारीको पक्षमा समेत काम गर्ने बताए। उनले कर्मचारीको दरबन्दी संरचना, कर्मचारी सेवा सुविधा, कर्मचारी सेवा सर्त र सेवा शुल्क नियमावली कर्मचारी हितका पक्षमा संशोधन गर्ने बताए।  

यस्तै उपमहानिर्देशक तिवारीले अन्तरदेशीय उडान नेटवर्क विस्तार, विमानस्थलहरु स्तरोन्नति आफ्नो प्राथमिकतामा रहेको जनाए।  

योजनाबद्ध र नतिजामुखी कार्य गर्नुपर्ने मान्यता साथै तिवारी चुनौतीपूर्ण, रचनात्मक र उदाहरणीय कार्य गर्ने क्षमता रहेका प्राधिकरण चलाउन सक्ने अब्बल मानिन्छन्।

उनी विमानस्थलको पूर्वाधार विकास र यसको प्रभावकारी सञ्चालनमा विशेष रुची राख्ने गर्दछन्। यस्तै प्राधिकरणको जग्गाको संरक्षण तथा उपयोग गर्ने उनको योजना छ। नेतृत्वदायी क्षमता भएका तिवारी अन्तर्राष्ट्रिय एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनको छाता संगठन नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनको दुई कार्यकाल अध्यक्ष रहि अन्तर्राष्ट्रिय संगठनमा समेत आफ्नो प्रभाव जमाउन सकेका छन्।

प्रकाशित: २३ पुस २०७८ ०९:४६ शुक्रबार

नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक पद उपमहानिर्देशक प्रतापबाबु तिवारी