समाज

जुम्लाको बाढी प्रभावित क्षेत्र बिजुलीविहीन

जुम्लाको बाढीप्रभावित क्षेत्र बिजुलीविहीन बनेको छ। तीन महिना देखि जिल्लाको तिला र तातोपानी गाउँपालिकामा रहेको बाढीग्रस्त क्षेत्र बिजुलीविहीन भएको हो। गत कात्तिक १ गते अबिरल वर्षासंगै गएको बाढी र पहिरोका कारण विद्युतगृह बगाएर लगेपछि दुई गाउँपालिकाका अधिकांस गाउँ अन्धकार छन्।  

तिला गाउँपालिका ४ का नैनबहादुर हमालका अनुसार बाढी आउनुपुर्व सबै बस्तीमा बिजुली व्यवस्थापन भएको थियो। लघु जलविद्युत नै बाढीले बगाएपछि टुकी बालेर बस्नु परेको उनले बताए। पहिले गाउँ झलमल्ल थिए। बाढीपछि गाउँमा सन्नाटा छ। उनले भने,‘गाउँ अन्धकार छन। बिद्युतीय उपकरण बन्द छन् । मोवाइल चार्ज गर्न पनि निकै समस्या भइरहेको छ।’

झण्डै एक शताब्दी पछि त्यो क्षेत्रमा भिषण बाढी गएको थियो। पहिरोले तिला र तातोपानी गाउँपालिकाका गरेर चार लघु जलविद्युत आयोजनामा पूर्ण क्षति पुगेको थियो। तीन महिनादेखि ती गाउँहरुमा उज्यालो छैनन्। स्थानीयहरुले अहिले दियालो बालेर काम चलाइरहेका छन्। उज्यालो नहुँदा विद्यार्थीको पठनपाठन निकै प्रभावित छ।

स्थानीयले मोबाइल चार्ज गर्न पाएका छैनन्। विद्युत नहुँदा कुटानी पिसानी मिलहरु पनि सञ्चालनमा आउन सकेका छैनन्। केही मिलहरु बाढीले बगाइसकेको थियो। तीन महिना यता अन्धकारले गर्दा पशु जस्तो जीवन जीउनुपरेको तिला ४ का नैनबहादुर हमाल बताउँछन्।  

बाढी र पहिरोले तिला गाउँपालिका ४ जुम्लाको साँपुल्ली, रावतवाडा, नुवकोट गाउँमा सबैभन्दा बढी क्षति पुर्याएको छ।  तातोपानी गाउँपालिका ४ को हाँकु, ठाँटा, गिडीखोला, नियापानी र वडा ७ र ८ को सर्मी, सुर्की, कँयरकोट, ताम्ती लामाबगड, बारागाउँ दारिम टाकुरी, पातरसाँघु, बंतडी, टोप्लालगायतका क्षेत्रको विद्युत क्षति पुर्याउनुको साथै सयौं कित्ता जमीन कटान गरेको छ।

अहिलेसम्म बाढी प्रभावितले न राहत पाएका छन्। नत कुनै सहयोग नै पाएका छन्। बाढीले सयौं किसानहरुको धान, मकै, सिमी, चिनो, कोदोबाली र स्याउ बगैंचा, स्थानीय घट्ट, चिरानी, कुटानी पिसानी मिलहरु बगाएको थियो। बाढी गएलगत्तै कात्तिक महिनामा कर्णाली प्रदेश सरकार निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठको टोली बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्थलगत अवलोकन गरेको थियो।

निवर्तमान मन्त्री भण्डारी नेतृत्वको टोलीले तत्कालीन् मुख्यमन्त्री महेन्द्रबहादु शाहीलाई बाढीपीडित नागरिकहरुलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन प्रभाव पार्ने खालको प्याकेज कार्यक्रम सञ्चालन गर्न मागपत्रसहित ध्यानाकर्षण गराएको थियो। कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका नेता भण्डारीले विद्युतको तत्कालीन् समस्या समाधानका लागि विकल्पकारुपमा जेनेरेटरको व्यवस्था र दीर्घकालीन सम्बोधनका लागि राष्ट्रिय प्रसारण लाइन जोड्ने पहल अगाडि बढाईएको बताए। 

अन्धकारमय बनेका बस्तीहरुमा तत्काल विद्युत आपूति गर्न जेनेरेटर खरिदका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तरगत कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रमबाट १० लाख  रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रभावित क्षेत्रमा सौर्य प्रणाली जडानका लागि पनि आवश्यक पहल भइरहेको छ। पुर्वमन्त्री भण्डारीले भने,‘बाढीप्रभावित क्षेत्रको नागरिकका समस्या संवोधनका लागि हामी लागिपरेका छौँ।’

उनकै पहलमा नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले जुम्लाका बाढी र पहिरो प्रभावित क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गर्न पोल गाड्ने योजनालाई अघि बढाएको छ। यसका लागि केन्द्रले झण्डै ४२ लाखको बोलपत्र आह्वान गरेको छ।

नेपाल विद्युत प्राधिकरणको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तरगत कुल दुई करोड ५० लाख लागतमा राष्ट्रिय विद्युत प्रसारण प्रणाली विस्तारका लागि पोल गाड्नलाई ४१ लाख ८१ हजार ९२० को बोलपत्र आह्वान गरिएको जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए।  

राष्ट्रिय विद्युत प्रसारण प्रणाली विस्तारका लागि तिला गाउँपालिका ४ को त्रिवेणीदेखि नुवाकोट, तातोपानी गाउँपालिकाको ७ र ८ नम्बर वडामा पर्ने सर्मी, सुर्कीदेखि ताम्ती र गुठिचौर गाउँपालिकाका विभिन्न ठाउँहरुमा पोल गाड्न बोलपत्र आह्वान गरिएको केन्द्र प्रमुख रावलले बताए। बोलपत्र आह्वान भए अनुसार ठेकेदार छनोटमा २/३ महिना लागिहाल्छ। 

ती ठाउँहरुमा विद्युत प्रसारण लाइन जोड्न दुई वर्ष लाग्छ।अहिलेको साढे दुई करोड बजेटमा जतिसम्म पुग्छ त्यहीसम्म पोल गाड्ने उनी बताउँछन्। विकल्पका रुपमा पहिरो प्रभावित क्षेत्रमा जेनेरेटरबाट विद्युत आपूर्ति गर्ने भनिएपनि यो झण्झटिलो र खर्चिलो भएको केन्द्र प्रमुख रावलले बताए।

प्रकाशित: २३ पुस २०७८ ०५:२० शुक्रबार