समाज

सितलहरले तराईकाे जनजीवन प्रभावित

यो वर्ष अलि ढिलो गरेर आएको सितलहरले तराईमा बसोबास गर्ने नागिरकहरुलाई प्रभाव पारेको छ। एक हप्ता अगाडि गत पुस १४ मा परेको पानीले तराईमा ‘कठ्याँग्रिने चिसो’ सुरू भएकाे छ। पुस १५ देखि लागातार सितलहर चलेपछि दिउँसै अध्यारो भएर चिसो अत्याधिक बढेको छ। यसबीचमा तापक्रम ९ डिग्री सेल्सियससम्म झरेको छ। 

एक हप्ताभित्र औसत तापक्रम १३ डिग्री छ भने न्युनतम ताप र अधिकतम तापबीचको फरक कम भएको छ। न्युनतम ९ र अधिकतम २० डिग्रीको बीचमा एक हप्तादेखि तापक्रम अडिएको तथ्यांक छ। भिजिविलिटी घटेपछि सिमरा बिमानस्थलबाट दिनहुँ उडानहरु स्थगति भएका छन्।  

सितलहरसंगै चिसो बढेपछि सर्वसधारणको जीवन प्रभावित भएको छ। बालबालिका, बृद्ध र बिरामीहरुलाई सितलहरले बढी प्रभावित गरिरेहेको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखालाई उदृत गर्दै यहाँका नगरप्रमुख विजय सरावगीले जानकारी दिए। 

जाडोलाई मध्यनजर गर्दै, महानगरपालिकाले ७० वर्ष नाघेका नागरिकहरुलाई कम्बल र अन्य सामग्री बितरण सुरु गरेको नगरप्रमुख सरावगीले बताए। त्यसता नागरिकको संख्या वीरगन्ज क्षेत्रभित्र ६ हजार बढी रहेको उनको भनाई छ। त्यसतै चोकचोकमा सर्वसधारणको लागि महानगरापालिकाको तर्फबाट दाउरा बाल्न लगाइएको उनले जनाए।  

विद्यालय बन्द

तराईमा एक सातायता चिसो बढेपछि पर्साका र बाराका गरी दर्जन बढी स्थानीय तहले बिदा घोषणा गरी विद्यालयमा पठनपाठन बन्द गरेका छन्। पर्साका पोखरिया नगरपालिका तथा ठोरी, धोबिनि र राभवानी गाउँपालिका लगायतले जाडोका कारण पठनपाठन बन्द गएिको जनाएका छन्। बाराका महागढ़ीमाई नगरपालिका, करईयामाई गाउँपालिका र देवताल गाउँपालिका लगायतका स्थानीय तहले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन्।  

शीतलहरले गर्दा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना रहेकोले नगरपालिकाका सबै विद्यालयमा पठनपाठन बन्द गराइएको पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियारले जानकारी दिए। जाडोका कारण गाउँ घरमा सर्वसधारणलाई समस्या रहेको बहदुरमाई नगरपालिकाका समाजिक अगुवा राकेश यादव मितवाले बताए। उनले पराल र भुसको आगोले घुर बाल्ने जस्ता रैथाने उपाय गरेर सर्वसधारणले जाडोको सामना गरिरहेको बताए।  

‘केही स्थानीय तहले अलिअलि काम गरेको देखिए पनि हरेक वर्ष आउने सितलहरको पुर्व तयारी पालिकाहरुमा देखिँदैन,’ यादवले भने, ‘हरेक वर्ष दोहरिने प्रकृति प्रकोप हो सितलहर, यसको लागि बढी प्रभावित हुने लक्षित नागरिक पहिचान गरी स्थानीय तहले राहत महशुस हुनेगरी कार्यक्रम राख्न आवश्यक रहेकाे उनले बताए।’ बिपन्न बर्गमा न्यानो कपडा, न्यानो ओढ्ने ओछ्याउने र पोषिलो खाने कुराको अभावले सितलहरमा सताएको उनले गुनासाे गरे।

प्रकाशित: २० पुस २०७८ १३:४५ मंगलबार