समाज

सिंगो गाउँपालिका नै बालश्रममुक्त घोषणा

म्याग्दीको रघुगंगा गाउँपालिकाका सबै वडा बालश्रममुक्त वडा घोषणा गरिएको छ। सबै प्रकारका बालश्रमिकको अवस्था पहिचान गरी शून्यमा झारेर बालश्रममुक्त घोषणा गर्ने अभियान अन्तरगत वडा नं २ भगवतीलाई घोषणा गरेसँगै ८ वटै वडालाई घोषणा गरिएको हो।

बालश्रममुक्त गाउँपालिका बनाउनका लागि स्थलगत सर्वे, बालश्रमिको तथ्याङ्क संकलन तथा सम्भावित जोखिममा रहेका बालबालिकाको पहिचानसहित विभिन्न प्रकारका चेतनामूलक अभियान सञ्चालन गरिएपछि वडा नं १ बेगखोलाबाट अभियान सुरू गरिएको थियो।  

स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानून विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर बालश्रममुक्त वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए। ‘पालिकाभित्र कुनै प्रकारको बालश्रमिक छैनन्,‘जोखिममा रहेका बालबालिकाको पहिचान भइसकेको छ’ सुबेदीले भने।

उनले ८ वटै वडामा १ सय ५० जना जोखिममा रहेका बालबालिकाको पहिचान गरी सहयोग गरिएको बताए। ‘बालश्रमिक भेटिए गाउँपालिकाले आवश्यक संरक्षण गर्छ, यो घोषणासँगै विभिन्न कार्यक्रमहरु समुदायस्तरमै पुग्छ’ गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले भने।

उनले जोखिममा रहेका बालबालिकाहरुलाई झोला, पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने गरिएको र उनीहरुका अभिभावकहरुलाई दिगो रोजगारितर्फ प्रेरित गर्न सीपमुलक तालिम सञ्चालन गर्ने तयारी गरिएको बताए।

बालश्रममा कोही पनि बालबालिका नहरेको आधार तयार भएपछि वडा समितिको सिफारिसमा वडा र कार्यपालिकाको सिफारिसमा गाउँसभा मार्फत पालिकालाई बालश्रमुक्त घोषणा गर्न सकिने प्रावधान अनुसार सबै वडाहरुलाई बालश्रममुक्त घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बताइन्।

उनले सबै वडाहरु बालश्रममुक्त घोषणा भएकाले आगामी दिनमा घोषणाको व्यवहारिक कार्यान्वयनमा समेत लाग्न सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्नेमा जोड समेत दिइन्। गाउँपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख सावित्रा सुवेदीले बालश्रम सामाजिक अपराध भएको र बालबालिकाहरुलाई कडा परिश्रम गर्नुपर्ने र कानुनले बन्देज लगाएको काममा लगाउन नहुने सन्देश सहितको चेतनामुलक ब्रोसर र होडिङ बोर्डहरु मार्फत समेत सचेतना जगाउने काम गरेको बताइन्।

विपन्न भएका कारण बालश्रमिक हुनपुगेका बालबालिकालाई निशुल्क भर्ना अभियान सहित शैक्षिक अभिभावकत्व समेत ग्रहण गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धि कार्यविधि २०७७ मा भएको व्यवस्था अनुसार, गाउँपालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियान सञ्चालन गरेको थियो।

नेपाल सरकारले सुरू गरेको बालश्रमिक मुक्त अभियान अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका गत आवको अन्तिममा छनोटमा परेको थियो। नेपाल सरकारले सुरू गरेको बालश्रमिक मुक्त अभियान अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका गत आवको २० पालिकामा छनोटमा परेको थियो। यो अभियानसँगै रघुगंगा म्याग्दीको पहिलो बालश्रम मुक्त पालिका भएको छ।

प्रकाशित: १९ पुस २०७८ १४:२१ सोमबार

बालश्रममुक्त घोषणा